स्वरोजगार लघुवित्तको नाफामा सुधार, पूँजी वृद्धिको चाप थेग्न भने सकस

0
Shares

स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको चैत मसान्तको  तुलनामा करिब ५९ प्रतिशतले खुद नाफा बढाएको छ । नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानीमा भने गिरावट देखिएको छ ।

लघुवित्तले चैत मसान्तसम्म ४ करोड २३ लाख खुद मुनाफा आर्जन भएको छ । यो गत वर्षको तुलनामा ५८.६३ प्रतिशत बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ६६ लाख खुद नाफा गरेको थियो ।

१२ करोड २४ लाख रुपैयाँको चुक्ता पूँजी १२० प्रतिशतले बढाएर २६ करोड ९५ लाख पुगेको छ ।

उच्च पूँजीवृद्धिको चापले लघुवित्तको प्रतिशेयर आम्दानीमा गिरावट देखिएको छ । गत बर्षको चैतमा २९ रुपैयाँ ०५ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको चालु आर्थिक वर्षको यसै अवधिमा २० रुपैयाँ ९४ पैसामा झरेको छ ।

यस अवधिमा लघुवित्तले ५ करोड ६५ लाखको जगेडा कोषमा ५३ प्रतिशतले सुधार गर्दै ८ करोड ६८ लाख रुपैयाँ सञ्चित गरेको छ ।

चैतसम्म एक अर्ब ११ करोड निक्षेप संकलन र एक अर्ब ४० करोड सापटीबाट लघुवित्तले २ अर्ब ७७ करोड कर्जा परिचालन गरेको छ ।
लघुवित्तको खराब कर्जा अनुपात ०.२७ बाट ०.८८ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात २३.९२ गुणा बढी छ ।