गरिमा विकासले पारित गर्यो साढे १४ प्रतिशत लाभांश


गरिमा विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले लाभांश प्रस्तावसँगै अन्य नियमित कामहरुलाई पनि अनुमोदन गरेको हो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले पोखरामा सम्पन्न गरेको साधारण सभाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी १.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पनि पारित भएको छ ।

अहिले बैंकको चुक्ता पुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१ रुपैयाँ ८९ पैसा छ । १३ प्रतिशत बोनस पारित भएसँगै बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरुलाई बैंकले सम्मान समेत गरेको छ ।

बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखालाई सम्मान गरिएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।