अमेरिकामा रोजगारी बढ्दै, मन्दीको सम्भावना न्युन

0
Shares

अमेरिकी श्रम विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार रोजगारी बढ्दै गएको छ । डिसेम्बर महिनामा मात्रै २ लाख २३ हजार पदका लागि विभिन्न कम्पनीहरुले कर्मचारीको माग गरेको विभागले जनाएको छ ।

सन् २०२२ को नोभेम्बर महिनामा ३.६ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरमा ३.५ प्रतिशतमा झरेको छ । रोजगारीमा भएको वृद्धिका कारण मानिसहरुले आफ्नो लगानीका स्रोतहरु बढाउन थालेका छन् ।

यस्तै अमेरिकाको मूल्यवृद्धि दर गत वर्षको तुलनामा कम हुँदै गएको छ । सन् २०२२ को जुन महिनामा ९.१ प्रतिशत पुगेको मूल्यवृद्धि दर नोभेम्बर महिनामा ७.३ प्रतिशतमा कायम रहेको छ ।

आर्थिक मन्दीको समयमा बेरोजगारी दरमा वृद्धि, मूल्यवृद्धि, आर्थिक वृद्धि दरमा गिरावट देख्न सकिन्छ । तथापि अमेरिकामा मूल्यवृद्धि दर घट्दै र रोजगारी बढ्दै गएको छ ।

सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दी उन्मुख भइरहँदा बेरोजगारी दरमा आएको कमी, घट्दै गएको मुद्रास्फीति दरले विश्वको ठूलो अर्थतन्त्र–अमेरिकामा मन्दी हुने सम्भावना कम हुँदै गएको छ ।

गोल्डम्यान स्याचले गरेको एक सर्भेका अनुसार ३५ प्रतिशत अर्थशास्त्रीहरुले अमेरिकामा सन् २०२३मा मन्दी नहुने बताएका छन् । विश्व अर्थतन्त्र विविध कारणहरुले अन्यौलता तर्फ लम्किएको र आर्थिक वृद्धि दरमा नकरात्मक गिरावट नआउँदा सम्म आर्थिक मन्दी हुने यकिन गर्न नसकिने गोल्डम्यान स्याचका अर्थशास्त्रीहरुले जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।