मन्त्रिमण्डल दोस्रो पटक विस्तार, सबैजसो नयाँ अनुहारले पाए अवसर

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारकाे मन्त्रिमण्डल विस्तार भएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले मङ्गलबार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद् निर्माण गरेका थिए । आजको विस्तारपछि २० फूल मन्त्री सम्मिलित मन्त्रीमण्डल निर्माण भएको छ । प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषदमा नयाँ र युवा समेटिएका छन् ।

सरकारमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी गरी पाँच दल सहभागि रहेका छन् । जनता समाजवादी पार्टीलाई पनि सरकारमा सहभागि गराइने बताइए पनि अन्तिममा सो दल सरकारमा सहभागि भएन । प्रधानमन्त्री आफैँले अझै पनि वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् ।

आज विस्तार भएको मन्त्रिपरिषदमा नेकपा (एमाले) का तर्फबाट हरिप्रसाद उप्रेती रक्षा मन्त्रालय, डा. विमला राई पौड्याल परराष्ट्र, राजेन्द्रकुमार राई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास मन्त्री र भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छिन् । पार्टीको तर्फबाट पुस ११ गते नै उपप्रधानमन्त्री एवम् अर्थ मन्त्रीमा विष्णु पौडेलले कार्यभार सम्हालिसकेका छन् ।

यसैगरी सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) बाट नवगठित मन्त्रिपरिषदमा रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुदन किराती संस्कृतिलेपर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अमनलाल मोदीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कायभार सम्हालेका छन् । आजको मन्त्रिपरिदमा पार्टीको तर्फबाट सुशीला सिर्पाली ठकुरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् । नेकपा (माओवादी केन्द्र) बाट उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ पुस ११ गते नै सरकारमा सहभागि रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद लिङ्देनले आजमात्रै उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सो पार्टीबाट विक्रम पाण्डेले सहरी विकास र धुब्रबहादुर प्रधानले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका छन् । राप्रपाबाट कमल थापालाई हराउँदै जित निकालेका दीपबहादुर सिंहले ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको कार्यभार पाएका छन् ।

यस्तै नवगठित मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेतृत्व गर्दै पुस ११ गते नै उपप्रधानमन्त्री एवं गृह मन्त्रीमा रवि लामिछानेले जिम्मेवारी सम्हालिसकेका छन् ।

यस्तै अर्को दल जनमत पार्टीका तर्फबाट सरकारमा अब्दुल खानको सहभागिता रहेको छ । उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ माघ २०७९, मंगलबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।