कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक: सुङ मिन जङ


कोरियाका राष्ट्रपतिका सल्लाहकार सुङ मिन जङले कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । राष्ट्रपतिका सल्लाहकार जङले परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँगको भेटवार्तामा यस्तो बताएका हुन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री डा पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिका आदान प्रदान लगायतका क्षेत्रमा सहकार्य अघि बढाउन कोरियन सरकारलाई गरेकी थिइन् ।

सो अवसरमा सल्लाहकार सुङले इपिएस अन्तर्गत १५ हजारभन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताएका थिए ।
पररष्ट्रमन्त्रीसँग कतारका राजदूतको भेट

आजै परराष्ट्रमन्त्री डा पौड्यालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनीहरूबीच दुई देशबीचको आपसी हितका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।