साधुसन्तको बिदाइका लागि ८ देखि १० लाखसम्म दक्षिणा


महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तको दक्षिणाको लागि आठ लाखदेखि १० लाखसम्म छुट्याइएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार शिवरात्रिका लागि आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सयदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिन लागिएको हो । उनीहरुलाई आज बिदाइ गरिने कार्यक्रम तय भएको छ ।

यस्तै कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सयदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ ।

भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।
यसैगरी महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा सङ्कलन भएको भेटिको गणना कार्य पनि आइतबारबाट सुरु भएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार गणना सक्न अझै पाँच–छ दिन लाग्नेछ ।

यही फागुन ६ गतेको महाशिवरात्रिमा कम्तीमा १५ लाख भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए । -रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।