मोटरसाइकल र ट्याक्सी चालक पदका लागि दुबई र कतार जान नपाइने


वैदेशिक रोजगार विभागले दुबई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि पूर्वस्वकृती नदिने भएको छ ।

विभागले सूचना प्रकाशित गरी वैदेशिक रोजगारीमा दुबई र कतारमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो ।

पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा कयौं नेपालीहरु लामो समय कामविहीन भई बस्नुपरेको छ ।

अधिकांश श्रमिक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो ।

 विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।