लालबन्दीबाट एक अर्बको तरकारी निकासी


सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रुपैयाँ आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।

उनका अनुसार आव २०७९\०८० को साउनमा २० करोड दुई लाख रुपैयाँ, भदौमा १८ करोड ८५ लाख ५२ हजार रुपैयाँ, असोजमा २७ करोड ८० लाख ८३ हजार रुपैयाँ, कात्तिकमा नौ करोड ६३ लाख ७८ हजार रुपैयाँ, मंसिरमा सात करोड १० लाख ६८ हजार रुपैँया, पुसमा १७ करोड १५ लाख ८८ हजार रुपैयाँ र माघमा २० करोड ९४ लाख ३७ हजार रुपैयाँ हाराहारी रकम सङ्कलन छ ।

चालु आवको सात महिनामा एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रुपैयाँ सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ ।

अध्यक्ष मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।