बाग्लुङको बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ ।
गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क निर्माण गरिएको छ । पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने छ ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन गरेको आठ लाख रुपैयाँले पार्क निर्माण गरेको बरेङ गाउँपालिका–५ सुखौराका अध्यक्ष अम्मरबहादुर सेर्बजाले जानकारी दिए ।
एक हजार सात सय मिटरको उचाईमा रहेको यो पार्क पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको हुँदा पालिकाले यसलाई प्राथमिकतामा राखेर काम गरेको उनी बताउँछन् ।
अध्यक्ष सेर्बुजा भने, “गाउँको केन्द्रमा छ, स्थानीयलाई त्यसै बस्नु भन्दा यहाँ गएर एकछिन आनन्द लिन सकिन्छ, पछिल्लो समय बालबालिका मोबाइलमै झुण्डी रहन्छन्, उनीहरुलाई बाहिरी वातावरणमा भुलाउनका लागि र आन्तरिक पर्यटकलाई तान्न यो पार्कको निर्माण गरेका हौँ, अझै काम बाँकी छ, आगामी बजेटमा समेटेर सम्पन्न गर्छौ ।”
यहाँ प्रतिक्षालय, घेराबार र खानेपानीको व्यवस्थापन गरिसकेको भन्दै अब शौचालय निर्माणसँगै बोट बिरुवा लगाउने कार्य बाँकी रहेको अध्यक्ष सेर्बुजाको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले यो ठाउँ पालिकाको महत्वपूर्ण क्षेत्र रहेको र पर्यटकीय सम्भावना बोकेको हुँदा पर्यटन पूर्वाधारस्वरुप हरित पार्कको सुरुवात गरेको बताए ।
अध्यक्ष शर्माले भने, “गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएका छौँ, सोहीअनुसार सुखौरामा पनि पार्कको परिकल्पना गरी निर्माण थालेका हौँ, यो ठाउँ ग्रामीण क्षेत्र हो, गाउँ भए पनि यहाँको कला संस्कृति र परम्परालाई पर्यटकसँग जोड्न खोजिरहेका छौँ ।”
उनले पार्कसँगै अन्य पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने बताए ।
अध्यक्ष शर्माले सुखौरा र सल्यान गाउँमा आलु, सिमीलगायत स्थानीय अर्गानिक वस्तु उत्पादन हुने भन्दै बाहिरबाट आउने पर्यटकलाई एक दिन गाउँमै बस्ने वातावरण तयार गर्ने र उत्पादित वस्तुलाई कोसेलीका रुपमा प्रवद्र्धन गर्ने बताए ।
गाउँपालिकाले पार्कसँगै वडा नम्बर–३ स्थित बाटाकाचौरको सत्यवती मन्दिर, भैँसेखोला र छहरेखोला झरनाको प्रवद्र्धन गरिरहेको अध्यक्ष शर्माको भनाइ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया