बिपिडब्लुको आइपीओ आजदेखि सर्वसाधारणले भर्न पाउने


बिपिडब्लु लघुवित्त वित्तिय संस्थाकोे आइपीओ आज (फागुन १८) देखि सर्वसाधारणका लागि खुल्ला भएको छ ।

लघुवित्तले यसअघि नै वैदेशिक रोजगारीमा रहेकाहरुलाई सेयर निष्कासन गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता सेयर निष्काशन गरेकाे हो । सोमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँड गरिसकेको छ भने १ हजार ५०० कित्ता सेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । आईपीओ फागुन २३ गतेसम्म भर्न सकिने छ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। लघुवित्तको बिक्री प्रवन्धकको रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।