साहस उर्जाको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत आयोजनाको उद्घाटन


साहस उर्जा द्वारा निर्मित ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलबिद्युत आयोजनाको उद्घाटन भएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त आयोजनाको राजधानीमा उद्घाटन गरेका हुन् ।

जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले साहस ऊर्जासँग जोडिएका सबै संघ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै ऐतिहासिक रेकर्ड बनाएकोमा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे । उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेको बताएका थिए ।

सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै सबैभन्दा ठूला आयोजना हो । सो आयोजनाको क्षमता ८६ मेगावाट छ । साहस ऊर्जाका अध्यक्ष हिम पाठकले पाँच सय मेगावाटसम्मका जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सक्छौँ भन्ने अनुभव आफूहरूले प्राप्त गरेको बताएका थिए ।

विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका कारणले अपेक्षित समयमा पूरा हुन नसकेको भए पनि ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित भएको उनको भनाई थियो । जलविद्युत् क्षेत्रको विकासबाट मात्रै समृद्धि प्राप्त हुने भन्दै विद्युत खरिद बिक्रीको इजाजतपत्र प्रदान गरिदिन उनले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

आयोजनाको परीक्षण उत्पादन सम्पन्न भई हाल व्यावसायिक उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना आफैँले १२ किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरेको छ ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रकृतिले दिएको अथाह जलशक्तिको उपयोग गरेर आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने बताएका थिए । ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशपछि नै मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको भए पनि आयोजना निर्माणपूर्व सात मन्त्रालय र २१ विभाग पुग्नुपर्ने जस्ता समस्या रहेकाले त्यसको उचित सम्बोधन गर्न आचार्यले सरकारको ध्यानाकर्षण गराएका थिए ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी बिस्तार भईरहेको बताउँदै इपान अध्यक्ष आचार्यले विद्युत् प्रवद्र्धकले स्थानीयस्तरमा भोग्नुपरेको समस्या समाधान गर्न अनुरोध गरे । अध्यक्ष आचार्यले बिजुलीको आन्तरिक खपत बढाउन तथा बाह्य मुलुकमा बिक्रीका लागि अनुमति दिन आग्रह गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।