गरिमा विकास बैंकको प्रतिशेयर आम्दानी ३३ प्रतिशतले बढ्दा पीई रेशियो घट्यो


गरिमा विकास बैंकले ५० प्रतिशतभन्दा फराकिलो अन्तरले खुद नाफा बढाएको वित्तीय विबरण निकालेको छ । बैंकले पूँजी, जगेडा, व्यवसाय, खराब कर्जा लगायतका विभिन्न सूचकमा गरेको सुधारले शेयरधनीलाई उत्साहित बनाउने देखिन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४२ करोड ३७ लाख ९६ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १८ करोड १५ लाख ६४ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ५० प्रतिशतभन्दा धेरै बढेको हो ।

निक्षेप संकलन १८ अर्ब ६३ करोड रुपैंयाबाट बढाएर ३० अर्ब ३५ करोड रुपैंया पुर्याएको बैंकले कर्जा परिचालन पनि १७ अर्ब १० करोड रुपैंयाबाट २६ अर्ब १५ करोड रुपैंया पुर्याएको छ । व्यवसायमा बिस्तार गरेसँगै बैंकको खुद व्याज आम्दानी ६९ करोड ९६ लाख रुपैंयाबाट बढेर ९९ करोड ९ लाख रुपैंया पुगेको छ ।

आम्दानी तथा खर्चका विभिन्न शिर्षकको आकार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा अहिले बढ्दै गएका छन् । यद्यपी सन्तुलित गतिमा देखिएको बढोत्तरीले बैंकलाई समग्रमा अझै सुधारको बाटोमा डोर्याएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैंयाबाट २ अर्ब ७८ करोड ८३ लाख रुपैंया पुगेको छ । पूँजीभन्दा नाफा वृद्धिको अनुपात धेरै भएका कारण बैंकको प्रतिशेयर आम्दानीमा झण्डै ३३ प्रतिशतको सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १४ रुपैंया ८१ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले २० रुपैंया ६ पैसा कायम भएको छ ।

बैंकको जगेडा कोषको आकार समीक्षा अवधिमा ५७ करोड ९ लाख रुपैंयाबाट बढेर ७९ करोड ६८ लाख रुपैंया पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैंया ५८ पैसाबाट बढेर १२८ रुपैंया ५८ पैसा पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा मूल्य आम्दानी अनुपात १२. गूणाले बढी रहेकोमा अहिले ९.६२ गूणाले मात्र बढी छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०।७८ प्रतिशतबाट ०.२६ प्रतिशतमा झरेको छ । बैंकको रिटर्न अन इक्विटी १३.२९ प्रतिशतबाट बढेर १७.८७ प्रतिशतमा उक्लिएको छ ।