लाभांसका विषयमा अन्यौलमा नपर्न हिमालयन डिष्टीलरीको आग्रह, ‘लाभांसमा कुनै परिमार्जन भएको छैन ।’


हिमालयन डिष्टिलरीले प्रस्ताव गरेको लाभांसका कारण केही दिनदेखि बजारमा शेयर मूल्य बढिरहेको छ । तर डिष्टिलरीले साधारण सभाको सूचना सार्वजनिक गर्दा परिमार्जन गरेको लाभांसका कारण लगानीकर्तामा अन्यौलता उत्पन्न भएको छ ।

यद्यपी कम्पनीले भने पहिलो घोषणा गरिए अनुसारको लाभांस नै बितरण हुने प्रष्ट पारेको छ ।

कम्पनीले यस अघि ५० प्रतिशत बोनस र कर प्रयोजनका लागि समेत गरी ५२.६३ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको थियो । अर्थात कर प्रयोजन समेत गरी कम्पनीले कुल १०२.६३ प्रतिशत नगद लभांस बितरण गर्ने उल्लेख गरेको थियो ।

साधारण सभाको सूचना सार्वजनिक गर्दा भने कम्पनीले कर समेत ५० प्रतिशत नगद लाभांस उल्लेख गरेको छ । तर कम्पनीले उल्लेख गरेको नगद लाभांसको रकम भने ५२.६३ प्रतिशतले हुने २० करोड २९ लाख ७१ हजार ३१५ रुपैंया ७९ पैसा नै उल्लेख छ ।

नोटबजारसँग कुरा गर्दै हिमालयन डिष्टीलरीका कम्पनी सचिव नेत्र तिम्सिनाले पुर्वघोषित लाभांस नै बितरण हुने प्रष्ट पारे । नगद लाभांसलाई मात्र करको व्यवस्था गरिएको भनिए अनुसार ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी १०० प्रतिशत नगद लाभांसको ५ प्रतिशत कर समायोजन गरिने उनले बताए ।

साधारण सभाको सूचनामा नगद लाभांसको प्रतिशतमा प्राविधिक त्रुटी भएको भए पनि लाभांस रकम ५२.६३ प्रतिशत नै रहेको उनले बताए । ‘यस अघि प्रस्ताव भएको लाभांसमा कुनै परिमार्जन भएको छैन ।’ उनले भने ।

तिम्सिनाका अनुसार कम्पनीले प्रस्ताव गरेको ५२.६३ प्रतिशत नगद लाभांस र ५० प्रतिशत बोनसबाट ५ प्रतिशत कर मिलान गरी ५० प्रतिशत बोनस र ४७.६३ प्रतिशत नगद लाभांस लगानीकर्ताले पाउने छन् ।

डिष्टीलरीले हाल कायम चुक्ता पूँजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैंयाको ५० प्रतिशतले हुने १९ करोड २८ लाख २२ हजार ७५० रुपैंयाको बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसै गरी २० करोड २९ लाख ७१ हजार ३१५ रुपैंया ७९ पैसा नगद लाभांस बितरण गर्ने साधारणभाको सूचनामा उल्लेख छ । यो रकम चुक्ता पूँजीको ५२.६३ प्रतिशत हो ।

हिमालयन डिष्टिलरीले आगामी पुस १ गते १९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा हुने साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, बोनस शेयरको कर प्रयोजनसहित ५२.६३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने छ ।

यसका साथै सभामा लेखापरीक्षक नियुक्त गर्ने, चुक्ता पूँजी वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतको प्रस्ताव रहेका छन ।

हाल ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनस पछि ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर १५ गते सेयरधनी दर्ता किताव बन्द गर्ने भएको छ । मंसिर १३ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन तथा लाभांश पाउनेछन ।