महासंघ र व्यवसायीका बिचमा सेतु बन्ने महासंघ वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जनको प्रतिबद्धता


नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्ने बताएका छन् ।

कोशी प्रदेशको काँकरभिट्टामा बुधबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेबार ?‘ विषयक कार्यक्रममा आफूले एफएनसीसीआईका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सहयोगी र सेतुको रुपमा काम गर्ने बताएका हुन् ।

“मैले वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्नेछु,” उनले प्रतिबद्धता जाहेर गरे, “विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरे पनि आफूले सक्रिय रुपमा उद्योगी व्यवसायीहरुको समस्या समाधानमा काम गर्नेछु ।”

उनले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्र्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रिय रुपमा सहकार्य गर्ने पनि बताए ।

“हामी आफैंले एसएमसईबाट व्यवसाय शुरु गरेर अहिलेसम्म यहाँ आएको हुँ । त्यसैले व्यवसायका समस्याका बारेमा पनि परिचित छु,“ उनले भने, “अहिले बजारमा समस्या छ र हामी सबै ऋण र ब्याज तिर्न कठिनाई भोगिरहेका छौं । त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु ।”

कार्यक्रममा पूर्व अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै नीजि क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताएका थिए ।

“अहिले राजस्व आम्दानी माइनसमा गयो । जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो । यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो,” उनले भने । बैंक तथा वित्तिय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनको टीप्पणी थियो ।

“नीति बनाउँदा पर्याप्त सल्लाह नभएको देखिन्छ । सामुहिक सल्लाह समेत गरिएन र निजी क्षेत्रसँग समेत सरसल्लाह भएन्,” पूर्व सचिवले ढुंगानाले भने, “मौद्रिक नीतिमा समिक्षा भएन र प्राइभेट सेक्टरसँग छलफल नै गरिएन ।”

जिल्ला नगरतर्फको उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले महासंघमा उद्योगीहरुको समस्यामा बोल्ने नेतृत्व चाहिएको भन्दै अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न आव्हान गरेका थिए ।

अन्य वक्ताहरुले अर्थतन्त्र पुरै बिग्रिएको नभई लथालिंग भएको र सुधार गर्न सकिने अवस्थामा रहेको बताएका थिए । सरोकारबालाहरुले अर्थतन्त्रमा केहि समस्या भएको तर यसलाई सबै मिलेर सुधार गरेर सहि बाटोमा ल्याउन सकिने बताएका थिए ।

कार्यक्रममा सहभागी भएका विभिन्न जिल्ला तथा नगरका अध्यक्ष तथा प्रतिनिधिहरुले निजी क्षेत्रका नेतृत्वले नियमितरुपमा यस्ता छलफल गराउनुपर्नेमा जोड दिएका थिए । अर्थतन्त्रलाई सुधार गर्न र व्यवसायीको हकहितमा काम गर्न नेतृत्वले अग्रसर हुनुपर्ने भन्दै सहभागीहरुले सरकारलाई घचघच्याएमा तलका व्यवसायीहरुले पुरै साथ दिने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।