बीरगञ्ज भन्सारबाट सबैभन्दा बढी आयात हुँदा ९ नाकाको निर्यात शून्य


देशभर सञ्चालनमा रहेका २७ नाकामध्ये ९ वटा नाकाबाट आठ महिनामा निर्यात शून्य रहेको भन्सार कार्यालयले जनाएको छ । विभागले बिहीबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुनसम्मको अवधिमा ९ वटा नाकाबाट निर्यात शून्य भएको देखाएको हो ।

भद्रपुर, जनकपुर, मेची, राजविराज, सिराहा, सुनसरी, तातोपानी, थाडी, त्रिवेनी भन्सार नाकाहरुबाट निर्यात शुन्य भएको हो ।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा देशको कूल व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल १० खर्ब ५८ अर्ब ३८ करोडको आयात हुँदा एक खर्ब ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ।

आठ महिनाको अवधिमा चार नाकाबाट सबैभन्दा बढी निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै विराटनगर नाकाबाट निर्यात भएको छ । बिराटनगरबाट कुल निर्यातको २६ दशमलव ९९ प्रतिशत अर्थात २८ अर्ब २८ करोड २६ लाख ६५ हजार रुपैयाँको निर्यात भएको छ ।

यस्तै सबैभन्दा बढि निर्यात हुनेको दोस्रो स्थानमा वीरगन्ज नाका रहेको छ । वीरगञ्जबाट कुल निर्यातको २४ दशमलव ६१ प्रतिशत अर्थात २५ अर्ब ७८ करोड ६० हजार ३७ रुपैयाँको निर्यात भएको छ ।

यस्तै वीरगन्ज पछि सबैभन्दा बढी निर्यात हुने तेस्रो स्थानमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल रहेको छ । यो नाकाबाट कुल निर्यातको २१ दशमलव ९६ प्रतिशत अर्थात २३ अर्ब १ करोड २१ लाख ४१ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

सबैभन्दा धेरै निर्यात हुने चौथो नाका मेचीबाट आठ महिनाको अवधिमा कुल निर्यातको १३.८५ प्रतिशत अर्थात १४ अर्ब ५१ करोड ८३ लाख ८४ हजार रुपैयाँको निर्यात भएको छ ।

यस्तै पछिल्लो आठ महिनामा पाँच नाकाबाट धेरै आयात भएको छ । सबैभन्दा धेरै आयात हुने नाका वीरगञ्ज हो । उक्त अवधिमा वीरगञ्जबाट ३ खर्ब ९१ अर्ब ३ करोड ९० लाख रुपैयाँको आयात भएको छ । यो कुल आयात (१० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार)को ३६.९५ प्रतिशत हो ।

त्यसैगरी सबैभन्दा बढी आयात हुने नाकाको दोस्रो स्थानमा भैरहवा नाका रहेको छ । भैरहवाबाट १ खर्ब ५२ अर्ब ४१ करोड ३० लाख २३ हजार रुपैयाँको आयात भएको छ । यो कुल आयातको १४ दशमलव ४० प्रतिशत हो ।

भैरहवा पछि सबैभन्दा धेरै आयात हुने अर्को नाका ड्राइपोर्ट हो । डाइपोर्टबाट १ खर्ब ३६ अर्ब २९ करोड १४ लाख ३२ हजार रुपैयाँ बराबारको सामान आयात भएको छ । यो कुल आयातको १२ दशमलव ८८ प्रतिशत हो ।

ड्राइपोर्ट पछि सबैभन्दा धेरै आयात हुने नाका बिराटनगर हो । विराटनगरबाट आठ महिनाको अवधिमा १ खर्ब २४ अर्ब ७५ करोड ७४ लाख ६९ हजार रुपैयाँको वस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ११.७९ प्रतिशत हो ।

यस्तै विराटनगर पछी सबैभन्दा बढी आयात हुनेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलबाट आठ महिनाको अवधिमा १ अर्ब ७ खर्ब ७७ करोड ४५ लाख ८५ हजार रुपैयाको वस्तु तथा सामानको आयात भएको छ । यो कुल आयातको १० दशमलव १८ प्रतिशत हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।