अर्थमन्त्रीलाई नाडा प्रतिनिधिले भने,’सवारी साधनलाई विलाशीताको बस्तुबाट हटाइनु पर्छ’

0
Shares

नेपाल अटोमोवाइल्स डिलर एसोसिएसन (नाडा) का प्रतिनिधिले नव नियुक्त अर्थमन्त्रीलाइ भेट्दै सवारी साधनलाई विलाशीताका बस्तुको वर्गिकरणबाट हटाउन आग्रह गरेका छन् । सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण गर्दा समस्या जटिल भएको गुनसो उनीहरुले गरेका हुन ।

अटो लोन तथा हायर पर्चोज कर्जाको जोखिम भार १५० प्रतिशतलाई घटाइ पुरानै ७५ प्रतिशतमा ल्याउन समेत अर्थमन्त्रीलाई उनीहरुको आग्रह छ । नाडा अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको टोलिले भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउन आग्रह गरे ।

अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने समेत सुझाव अर्थमन्त्रीलाई दिएका छन ।

छलफलको मन्त्री महतले आफु धेरै अफ्ठयारो परिस्थितिमा आएको बताउँदै अटोमोवाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसंग सल्लाह गर्ने बताए । उनले कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई परेका समस्या बारे सुझाव एकिकृत गरी बजेट सुझावको रुपमा दिन समेत आग्रह गरे ।

भेटघाटको क्रममा मन्त्री महतले अव अटोमोवाइल व्यवसायीहरुले विद्युतिय सवारी साधनहरुको उत्पादन र विक्रीमा यथोचित ध्यान दिनका सुझाए । अध्यक्ष थापाले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन समेत अर्थमन्त्री समक्ष आग्रह गरेका थिए ।

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गरेका थिए । उक्त भेटमा नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।