राष्ट्रिय वाणिज्य बैंकले न्यूरो अस्पतालका कर्मचारीलाई सरल कर्जा प्रवाह गर्ने

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारी बीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अस्पतालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई अस्पतालको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।

बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ८.६० प्रतिशत रहेको छ । सम्झौता अनुसार अस्पतालका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ । कार्यक्रममा अस्पतालकी कार्यकारी अध्यक्ष प्रा डा मधु दिक्षितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, विभागीय प्रमुखहरु आनन्द सुवेदी र अच्युत गौतम, प्रबन्धक सरोज कोइराला, अस्पतालका तर्फबाट प्रशासन प्रमुख विद्याकर अधिकारी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।