चार दिनपछि सेयर बजारमा हरियाली, कारोबारमा अझै आएन चमक

0
Shares

पछिल्लो चार कारोबार दिन निरन्तर घटिरहेको सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ । सेयर बजारमा सुधार आएपनि कारोबार भने सुस्त नै छ ।

बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ विन्दु माथि उक्लिएको छ। पछिल्लो चार कारोबार दिनमा नेप्से ५८ अंकले घटिसकेको थियो। सरकारले जग्गाको कित्ताकाटमा सहजीकरण गर्ने घोषणा गरेपछि सेयर बजारमा सुधार संकेत देखिएको हो ।

आज ८७ करोड २१ लाख बराबरको सेयर कारोबार भएको छ। मंगलबार पनि ८७ करोड बराबरकै सेयर किनबेच भएको थियो। बुधबारको बजारमा कारोबार भएका १६७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १२ कम्पनीको स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.४७ प्रतिशत घटेको छ।

बुधबार पनि कालिञ्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सामलिङ पावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। आदर्श लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबारका आधारमा बुधबार स्वावलम्बन लघुवित्तको सबैभन्दा धेरै ८ करोड ८३ लाख बराबरको संस्थापक सेयर कारोबार भयो । यस दिन नबिल बैंक र एनआईसी एशिया बैंकको ३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।