नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्न सकिने


सरकारले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्न सकिने व्यवस्था गरेको छ ।

मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ऐनको अनुसूचीमा संशोधन गरी इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा पनि राख्न सक्ने व्यवस्था गरेको हो ।

राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले यस्तो व्यवस्था भएको जनाएको हो ।

मन्त्रालयका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७८ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची २ को भाग २ अन्तर्गत द्रष्टब्य खण्डको बुँदा नं ११ र १२ हेरफेर गरिएको हो ।
बुँदा नम्बर १२ मा “इम्बोस्ड सवारी नम्बर प्लेटमा रहने अक्षर र अङ्क नेपाल सरकारले निर्णय गरे बमोजिम देवनागरी लिपि वा अङ्ग्रेजी लिपि वा दुवै लिपिको मिश्रितमा हुनु पर्नेछ,” भन्ने उल्लेख छ । यस अघि बुँदा नम्बर १२ मा “इम्बोस्ड सवारी नम्बर प्लेटमा अक्षर र अङ्क अंग्रेजी लिपीमा हुनु पर्नेछ,” भन्ने उल्लेख थियो ।

बुँदा नम्बर ११ मा “स्टिल (क्लास ४.८) को गोलो टाउको भएको अन हार्डेन्ड, मेसिन वन वे स्क्रु एउटा सवारी साधनको लागि आठवटा सम्म हुनु पर्नेछ,” भन्ने व्यवस्था गरिएको छ । यस अघि बढीमा ४ वटासम्म राख्न सकिने व्यवस्था थियो ।

मन्त्रालयले विभागलाई यस सम्बन्धमा परिपत्र गरिनसकेका कारण विभागले उक्त निर्णय कार्यान्वायन गराउन भने सकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।