सरकारसँगको सहकार्यमा सिबिफिन र नेपाल विजनेस इन्स्टिच्युटले ‘बिजनेस समिट’ गर्दै


नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), र नेपाल विजनेस इन्स्टिच्युट संयुक्त आयोजनामा ‘विजनेश समिट’ हुने भएको छ ।

बैंशाख २४ गते हुने उक्त सम्मेलनमा अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ का विषयमा केन्द्रीय हुने सिबिफिनले जनाएको हो । सम्मेलनको सभापतिको रुपमा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान रहने छन् भने प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।

होटल याक एण्ड यतीमा हुने सम्मेलमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समुहको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम, वरिष्ठ उद्यमी तथा प्रतिनिधिसभाका माननीय सदस्य विनोदकुमार चौधरी, वरिष्ठ अर्थशास्त्री तथा प्रतिनिधिसभाका सदस्य डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्मोस, एफएनसिसिआइका पूर्व अध्यक्ष भवानी राणा, सिएनआइका पूर्व अध्यक्ष हरिभक्त शर्मा, म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के.सी., वोर्ल्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेशनका प्रबन्ध निर्देशक जोसेफ अल्भानसलगायत विभिन्न देशका राजदुतहरु, अर्थशास्त्रीहरु, उद्यमी व्यवसायीहरु, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरुले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मा केन्द्रीय उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार–विमर्श हुनेछ । हाल उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको, विभिन्न कारणले मागमा संकुचन आइ उत्पादन प्रभावित भएको जस्ता समस्या समाधानका विषयमा समेत प्रस्तुती दिने कार्यक्रम रहेको सिबिफिनले जनाएको छ ।

चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य अनुसारको न्यून राजस्व संकलन तथा पुँजीगत खर्च, अन्तर्राष्ट्रिय परिवेशका कारण बढेको मूल्यवृद्धि र त्यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका बारेमा समेत गम्भीर छलफल हुनेछ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने सम्मेलनमा आर्थिक, बैंकिङ एवं व्यवसायिक क्षेत्रका विभिन्न शिर्षकहरुमा गरिने व्यापक छलफल तथा बहसबाट भिजन डकुमेन्ट तयार गर्ने समेत आयोजनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।