नेप्से ३० इण्डेक्स ल्याउने काम अघि बढाउँदै नेप्से, सुझाव माग


पछिल्ला केही वर्षदेखि ल्याउने भनिएको नेप्से ३० इण्डेक्स ल्याउनका लागि नेपाल स्टक एक्स्चेञ्जले सुझाव माग गरेको छ ।

नेप्सेले बुधबार सूचना मार्फत नयाँ इण्डेक्स बनाउन सम्बद्ध पक्षहरुसँग सुझाव माग गरेको हो । नेप्से आफैंले तयार गरेको गणना विधी सार्वजनिक गर्दै अन्य विधि सुझावका रुपमा पेश गर्न नेप्सेले आग्रह गरेको हो । नेप्सेले आगामी जेठ ५ गतेभित्र नेप्से ३० इण्डेक्सको गणना विधी सुझाव गर्न आग्रह गरेको हो ।

बजारमा तत्काल कारोबारयोग्य (फ्री फ्लोट) शेयरलाई समावेश गरी बजार पुँजीकरणमा आधारित (भ्यालु वेटेड) सूचकाङ्कको रुपमा नेप्से ३० इन्डेक्स तर्जुमा हुने नेप्सेले जनाएको छ ।
नेप्से ३० इण्डेक्सले बजार कारोबार तथा उतार–चढावलाई प्रतिविम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड सञ्चालनलगायतमा सघाउ पुग्ने नेप्सेको अपेक्षा छ ।

“नेप्से ३० इन्डेक्सबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन जान्छ”, नेप्सेले भनेको छ, “दीर्घकालीन महत्व राख्ने यस सूचकाङ्कको गणना विधि र यसमा समावेश गरिने सूचीकृत सङ्गठित संस्था छनोटको विधि पारदर्शी र विश्वसनीय बनाउन आवश्यक छ ।”

प्रस्ताविक नेप्से ३० इन्डेक्समा समावेश हुनका लागि सूचीकृत सङ्गठित संस्था छनोटका आधार तोक्दै नेप्सेले आफुले तयार गरेको इण्डेक्स गणना विधि सार्वजनिक गरेको छ ।

प्रतिशेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर किताबी मूल्य बढी हुनुका साथै विगत पाँच आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा तीन वर्ष खुद नाफामा रहेको कम्पनी नेप्से–३० इन्डेक्समा रहन योग्य मानिने नेप्सेले जनाएको छ । साथै अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फिति दरभन्दा बढी रहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

नेप्से ३० इन्डेक्समा सूचीकृत हुने कम्पनीले कम्तीमा २५ प्रतिशत सर्वसाधारणमा सेयर जारी गरेको हुनुपर्ने वा कूल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी रहेको हुनुपर्नेछ । कम्तीमा २० हजारभन्दा बढी शेयर सदस्य रहेको, पछिल्लो छ महिना अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत पाँच हजार कित्ता वा सोभन्दा बढीको कारोबार भएको र दैनिक औसत ४० भन्दा बढी पटक कारोबार भएको कम्पनी नेप्से ३० इन्डेक्समा सूचीकृत गरिने व्यवस्था छ ।

पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनमा कारोबार भएका कम्पनीलाई यो इन्डेक्समा राख्न लागिएको नेप्सेको सूचनामा उल्लेख छ । साथै कम्पनी छान्दा हाल नेप्सेमा रहेका ६ वटा समूहगत परिसूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८/८ वटा कम्पनी छानिने नेप्सेले जनाएको छ ।

नेप्सेले सार्वजनिक गरेको नेप्से ३० इण्डेक्सको गणना विधि र सुझाव मागको सूचनाः

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।