अर्थसचिव पोखरेलले लिए राष्ट्र बैंक सञ्चालकको सपथ


अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले अर्थसचिव पोखरेललाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रार नारायणप्रसाद पन्थी, सह–रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।