जुत्ता तथा चप्पलको बजार खस्किँदै, ‘म्याजिक’ चप्पलको आम्दानीमा गिरावट

0
Shares

नेपालमा ‘म्याजिक’ चप्पल तथा जुत्ताको उत्पादन गर्दै आएको जयश्री कम्पनी र जयश्री पीयु टेक कम्पनीको आम्दानीमा गिरावट आएको छ ।

सन् २०२२ मा यी जयश्री कम्पनीले ५५ करोड ५० लाख र जयश्री पीयु टेक कम्पनीले ५२ करोड ५० लाख आम्दानी गरेका छन् । सन् २०२१ मा जयश्री कम्पनीले ६६ करोड ७० लाख र जयश्री टेक कम्पनीले ५५ करोड २० लाख आम्दानी गरेको थियो । सन् २०२२ को तुलनामा यी दुई कम्पनीको सञ्चालन आम्दानी क्रमशः २०.१८ प्रतिशत र ५ प्रतिशतले घटेको हो ।

नेपाली बजारमा विभिन्न कम्पनीहरुले जुत्ता तथा चप्पल उत्पादन सुरु गरेका छन् । जसकारण बजारमा प्रतिस्पर्धा बढेको छ । यस्तै भारत तथा चीनदेखि चप्पलको आयातमा पनि वृद्धि भएको छ । जसकारण म्याजिक चप्पल उत्पादक कम्पनीहरुको आम्दानी खस्किएको छ ।

सन् २००९ मा स्थापना भएको जयश्री पीयु टेक कम्पनीले चप्पल, स्यान्डल र जुत्ताको उत्पादन गर्दै आएको छ । यस्तै सन् १९८३ मा स्थापना भएको जयश्री कम्पनीले चप्पल र स्यान्डलको उत्पादन गर्दै आएको छ ।

जयश्री कम्पनीको उत्पादन क्षमता १ करोड २० लाख जोडी चप्पल रहेको छ भने जयश्री पीयु टेक कम्पनीको उत्पादन क्षमता ९ लाख जोडी चप्पल तथा जुत्ता उत्पादन गर्ने क्षमता रहेको छ ।

जयश्री पीयु टेक कम्पनी अनुज पोडर र राजेश कुमार अग्रवालको नेतृत्वमा रहेको छ । यस्तै जयश्री कम्पनी अनुज पोडर र रुबी अग्रवालको नेतृत्व र यी दुई जनाको मात्रै सेयर स्वामित्व रहेको छ ।

जयश्री कम्पनीले ६० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ६ करोड ७२ लाख २० हजार बराबरको दीर्घकालीन कर्जाका लागि कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी रेटिङ दिएको छ भने ५३ करोड २७ लाख ८० हजार बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले ए४ रेटिङ गरेको छ । कम्पनीले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको ३.०३ गुणा रहेको छ ।

यस्तै जयश्री पीयु टेक कम्पनीले ५० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । २० करोड ५० लाख बराबरको दीर्घकालीन कर्जाका लागि केयर नेपालले डबल बी माइन्स रेटिङ गरेको छ भने २९ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गराएको छ । यस्तै कम्पनीको वित्तीय विवरण अनुसार कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.०३ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।