टिस्यु पेपर उत्पादक एरिह्यान्ट अटो कोरुगेसनको आम्दानी साढे २ अर्ब

0
Shares

‘पियोर’ ब्रान्डको टिस्यु पेपर उत्पादन गर्दै आएको एरिह्यान्ट अटो कोरुगेसन प्रालिले सन् २०२२ मा २ अर्ब ३५ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा १ अर्ब ७२ करोड ९० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा ३६.२६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै कम्पनीका अन्य वित्तीय सूचांक पनि बलियो देखिएका छन् ।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा सन् २०२२मा कुल सञ्चालन आम्दानीको १४.७६ प्रतिशत रहेको छ । जुन सन् २०२१मा १२.९६ प्रतिशत थियो । यस्तै सन् २०२१मा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.८८ गुणा थियो भने सन् २०२२ मा सो क्षमता ३.५३ प्रतिशत पुगेको छ ।

सन् २०१० मा स्थापना भएको कम्पनीले कार्डबोर्ड बक्स, क्राफ्ट पेपर, डुप्लेक्स पेपर र टिस्यु पेपर उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन प्लान्ट बिराटनगरको मोरङमा अवस्थित छ ।

पछिल्लो समयमा नेपालमा टिस्यु पेपरको प्रयोग बढ्दै गएको छ । जसकारण टिस्यु पेपर उत्पादक कम्पनीको आम्दानीमा आकर्षक वृद्धि भएको छ ।

होटल, रेष्टुराँदेखि लिएर सरकारी कार्यालयमा समेत टिस्यु पेपरको प्रयोग बढेको छ । विगत चार वर्षमा कम्पनीले ३९ प्रतिशतको चक्रीय वार्षिक वृद्धि दर हासिल गरेको छ।

कम्पनीको प्रमोटर एरिहन्ट ग्रुप रहेको छ । कम्पनीमा एरिहन्ट ग्रुपकै संस्थागत सेयर रहेको छ । पारस लुनिया कम्पनीका प्रबन्ध निर्देशक हुन् ।

कम्पनीले १ अर्ब ४३ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको दीर्घकालीन तथा अल्पकालनि कर्जाका लागि रेटिङ गराएको छ । ४० करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर नेपालले डबल बी प्लस रेटिङ गरेको छ भने १ अर्ब ३ करोड बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले ए४ प्लस रेटिङ गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।