व्यापार घाटा न्यूनीकरण गर्न आ-आफ्नो क्षेत्रबाट ईमान्दारिताका साथ लाग्न मन्त्री रिजालको आग्रह

0
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले व्यापार घाटा न्यूनीकरण गर्न आ–आफ्नो क्षेत्रबाट ईमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गरेका छन ।

बुधबार मन्त्रालयमा आयोजित व्यापार घाटा न्यूनीकरण कार्ययोजना र नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयन सम्बन्धी बैठकमा मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन ।

मन्त्री रिजालको अध्यक्षता बसेको बैठकमा जिम्मेवार मन्त्रालय तथा निकायको उपस्थिति रहेको थियो । नेपालमा नीतिहरु बन्ने तर कार्यान्वयनमा कम जाने तथा बेला बेलामा कार्यान्वयनमा लगिएका नीतिहरुले पनि वाञ्छित नतिजा हासिल गर्न नसकेको आलोचना हुने गरेको भन्दै मन्त्री रिजालले सबैले आ आफ्नो क्षेत्रबाट ईमान्दारिताका साथ अहम भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।

नेपाल व्यापार एकिकृत रणनीति २०८० को कार्यान्वयन खाका बमोजिम आवश्यक साधन श्रोतको व्यवस्था गरी लक्षित क्रियाकलाप संचालन गर्ने, निर्धारित सूचक प्राप्त गर्ने र सो को माध्यमबाट उल्लेख्य मात्रामा निर्यात व्यापार प्रवर्धन, व्यापार घाटा न्यूनीकरण तथा विदेशी मुद्रा प्राप्तिको बर्तमान अवस्था सुधार गर्न सफलता प्राप्त हुनेमा मन्त्री रिजालले बिश्वास व्यक्त गरे ।

नेपालले विगत केहि वर्षदेखि सामना गरिरहेको बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न २०७९ चैत २८ गते बसेको मन्त्रिपरिषदको निर्णयबाट व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत भएको थियो ।

त्यसैगरी २०८० बैशाख २६ गते बसेको मन्त्रीपरिषद निर्णयबाट नेपाल व्यापार एकिकृत रणनीति २०८० स्वीकृत भएको थियो ।

उक्त कार्ययोजना तथा रणनीति कार्यान्वयनमा ल्याउनका निमित्त आज मन्त्रालयमा बसेको बैठकमा जिम्मेवार मन्त्रालय तथा निकायको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।