एक्सेल डेभलपमेन्ट बैंकले लाखमा मात्र बढायो कमाई, प्रतिशेयर आम्दानी जहाँको त्यहीँ


एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीलाई आशावादी बनाउन नसक्ने किसिमको वित्तीय विबरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लाखको अंकमा मात्र खुद नाफा बढाएको बैंकको खर्चमा आएको बढोत्तरीले नाफा प्रभावित भएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ११ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा बैंकको खुद नाफा ११ करोड ११ लाख रुपैंया थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ३३ लाख रुपैंयाले मात्र बढेको हो ।

बैंकले २७ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा बैंकले २३ करोड ४८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको विभिन्न शिर्षमा भएको खर्चको आकार वृद्धि अनुपात धेरै छ ।

गत आर्थिक वर्षमा नगद लाभांश मात्र विबतरण गरेका कारण बैंकको चुक्ता पूँजीमा कुनै परिवर्तन आएको छैन । जसका कारण बैंकको प्रतिशेयर आम्दानीमा सामान्य सुधार भएको देखिन्छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १६ रुपैयाँ ४ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी अहिले १६ रुपैयाँ ५२ पैसामा उक्लिएको छ । यद्यपी लगानीकर्ताका लागि उत्साहजनक नतिजा भने बैंकले देखाउन नसकेको हो ।

बैंकको चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ छ । बैंकको जगेडा कोषमा २२ करोड २८ लाख रुपैंया छ । निष्कृय कर्जा १.०८ प्रतिशत रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात १३.०२ गुणाले बढी छ ।