जुम्ला र कालीकोटमा टेलिकमको एफटीटीएच सेवा


नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को सुरुवात गरेको छ । शुक्रबार दुई जिल्लामा एफटीटीएच सेवाको सुरुवात गरिएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लाका ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको सुरुवात गरेका हुन् ।

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् ।

यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ ।

फाइबर टू द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ । यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ ।

हाल स्प्रिङ अफर अन्तर्गत डाटामा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक ८ हजारमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबिपिएसको इन्टरनेट तथा ३ हजार मिनेट कुरा गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा यपलब्ध हुने टेलिकमले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।