वैदेशिक रोजगारीको कहाली लाग्दो तथ्यांक: ८ महिनामा ६८९ जनाले गुमाए ज्यान


मासिक १ खर्ब बराबरको रेमिट्यान्स देशमा भित्रिँदा मक्ख पर्ने नेपाल सरकारले विदेशी भुमिमा मृत्युवरण गर्न बाध्य नेपाली कामदारको सङ्ख्या बढिरहँदा ठोस कदम चाल्न सकेको छैन ।

चालु आर्थिक वर्षको फागुन महिनासम्मको ८ महिनाको अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा ७ सय ८९ नेपालीले ज्यान गुमाएका छन् । जसमा ७ सय ६१ जना पुरुष र २८ जना महिला रहेका छन् ।

यस्तै १६० जना पुरुष र ६ जना महिला गरी वैदेशिक रोजगारीमा रहेका १६६ जना शारिरीक रुपमा अङ्गभङ्गको अवस्थामा पुगेका छन् ।

खाडी देशहरुलाई रोजगारीको प्रमुख गन्तव्य मानेर युवाहरु विदेशिँदा सरकारले आवश्यक सुरक्षा संयन्त्र र तालिमको व्यवस्था गर्न सकिरहेको छैन । जसका कारण ती मुलुकमा रोजगारीको शिलशिलामा नेपाली युवाहरु मृत्युवरण गर्न बाध्य छन् ।

स्वदेशमा रोजगारीको अवसर सिर्जना नहुँदा हाल नेपाल मानवस्रोत उत्पादन तथा वितरण गर्ने उद्योगका रुपमा स्थापित भईरहेको छ । त्यसमा पनि दक्षभन्दा अदक्ष कामदार बाध्यात्मक अवस्थामा रोजगारीका लागि विदेशिन बाध्य छन् ।

देशमा उचित रोजगारी नपाएकै कारण वैदेशिक रोजगारीका लागि देश छाड्नेहरुको सङ्ख्या प्रत्येक वर्ष बढिरहेको छ । आव २०७९/८० को फागुन महिनासम्ममा कुल ५५ लाख २६ हजार ७०४ जना नेपालीले श्रम स्वीकृति लिएर विेश गएको चालु आवको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

चालु आवको फागुन महिनासम्मको १० महिनाको अवधिमा मात्र ३ लाख ३७ हजार १४४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३ लाख ३ हजार २६५ जना पुरुष रहेका छन् भने ३३ हजार ८७९ जना महिला रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालबाट बाहिरिनेको सङ्ख्या बढेसँगै नेपालमा रेमिट्यान्स बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन महिनामा ७ अर्ब ९४ अर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ । आवको सोहि अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको हो ।

नेपालबाट युवाहरु बाहिरिने क्रम जारी रहँदा एकातिर रेमिट्यान्स बढ्दै गएको छ भने अर्कोतिर विदेशी भूमिमा भवितव्य भोगिरहेका मानिसहरुको सङ्ख्या समेत बढ्दै गएको छ । नेपाल सरकारले श्रम स्वीकृति, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता जस्ता कार्यक्रमहरु अघि सारे पनि उक्त कार्यक्रमको विषयमा जानकारी नहुँदा वैदेशिक रोजगारीमा जानेहरु ठगिमा परेका छन् भने भिसामा उल्लेख भए अनुसारको सेवा सुविधा समेत पाएका छैनन् ।

सरकारले श्रम स्वीकृति नलिई विदेश जान अनुमति नदिए पनि पर्यटक भिसा र भिजिटिङ भिसामा खाडी तथा युरोपियन मुलुक जाने नेपालीहरुको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ । जनचेतनाको कमीका कारण अवैधानिक च्यानल मार्फत विदेशिँदा नेपालीहरु विदेशी भूमिमा विभिन्न समस्याहरु भोग्न बाध्य छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।