प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहने 

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने भएको छ। 
परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले द्विपक्षीय हित र चासोका बारेमा प्रधानमन्त्रीस्तरमा छलफल हुने जानकारी दिए। उनले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको बताए । 
 
परराष्ट्रमन्त्री साउदले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा महत्त्वपूर्ण विचार विमर्श हुने उल्लेख गरे। 
 
दीर्घकालीन रूपमा बिजुलीको व्यापार गर्न सकियोस् भन्ने बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र एउटा निष्कर्ष निस्कने परराष्ट्रमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । यस्तै महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुङ्गे पुल निर्माणका बारेमा पनि सहमति हुनेछ । 
 
नेपाल र भारतका बीचमा रहेको व्यापार घाटालाई कम गर्ने तथा कृषि उपजलाई विना अवरोध भारतीय बजारमा प्रवेश गराउने विषयमा पनि महत्त्वपूर्ण सहमति गर्ने तयारी छ । उच्च राजनीतिक तहमा विश्वासको वातावरण तयार पार्दै सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सवालमा भारत भ्रमण फलदायी हुने विश्वास लिइएको उनको भनाइ छ ।
 
उद्योगी व्यवसायीका बीचमा रहेका समस्या समाधानका लागि प्रधानमन्त्रीको उपस्थितिमा अन्तरक्रिया एवं छलफल गर्ने कार्यक्रम तय भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण दलमा मन्त्रिगण, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता छ । 
 
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्नेछन । भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन । 
 
प्रधानमन्त्री दाहालले सोमबार मात्रै प्रतिनिधिसभामा भारत भ्रमणको बारेमा जानकारी गराइसकेका छन । आज बसेको मन्त्रिपरिषद्को बैठकले भारत भ्रमणका बारेमा छलफल गरेको छ । 
 
प्रधानमन्त्रीको भारत भ्रमणबारे मन्त्रिपरिषद्मा छलफल
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भोलि बुधबारदेखि हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्मा छलफल भएको छ ।
 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन। उनले भने, “मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ ।”
 
भारत भ्रमणको सरकारी प्रतिनिधिमण्डलको टुङ्गो लागिसकेको पनि सञ्चारमन्त्री शर्माले बताए । भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत भोलि त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको छ।
 
मन्त्रिपरिषद् बैठकमा बजेटका सम्बन्धमा पनि छलफल भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै बजेटसम्बन्धी छलफल गर्ने विषयमा पनि कुराकानी भएको सञ्चारमन्त्री शर्माले बताइन । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै सदनमा सोमबार आव २०८०र८१ को वार्षिक बजेट प्रस्तुत गरेका थिए। बजेटमाथि संसद्का दुवै सदनमा छलफल भई पारित हुनेछ ।
 
त्यसैगरी मन्त्रिपरिषद् बैठकमा नागरिकताको विषयमा पनि सामान्य छलफल भएको छ । यद्यपि, नागरिकताको विषय अघिल्लो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाइसकेको छ । “आजको बैठकमा नागरिकताको विषय पनि प्रवेश भएको छ । नागरिकताको विषयमा राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार पारित गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ”, सञ्चारमन्त्री शर्माले भनिन्।
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।