कुथेली हाइड्रोको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनी ?


कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपीओमा आज जेठ १९ गतेदेखि आवेदन दिन सकिने छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

उक्त आइपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले असार १ गतेसम्म आवेदन दिनुपर्ने छ । उक्त समयमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि असार १७ गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १ गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीका बारेमा

कम्पनीले प्रबर्धन गरिरहेको ९९८ किलोवाटको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.३७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.१० वर्ष रहेको छ। आयोजनाले २०७१ जेठ ५ गते विद्युत उत्पादन अनुमति पाएको थियो । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।