रावा इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन, कति पर्यो आवेदन ?


रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका निष्काशन गरेको आइपीओमा लगानीकर्ताले आजसम्म मात्र आवेदन दिन पाइने छ ।

कम्पनीले जेठ १८ गतेदखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।

सोमध्ये ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी रहेको थियो । सर्वसाधारणलाई निष्काशन गर्ने सेयरमा सो सेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

निष्काशित  कुल सेयरमध्ये १५ हजार ४७ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा आइतबार साँझसम्म ८ लाख ६९ हजार ६४५ जनाले ९५ लाख ८६ हजार ४ सय कित्ताको लागी आवेदन दिएका छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।