निर्वाचन निर्देशिका विधानसँग बाझिएको भन्दै इप्पानको निर्वाचन प्रकृया विवादमा


स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को निर्वाचन हुन २ दिन बाँकी हुँदा निर्वाचन प्रकृया विवादमा तानिएको छ । संस्थाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका इञ्जिनियर किरण मल्ल र संस्थापन पक्षबिच इप्पानको निर्वाचन निर्देशिकाको विषयलाई लिएर विवाद चुलिएको हो ।

संस्थाको गत वर्ष संशोधित विधानले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी यस पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति कार्यकाल सकिएपछि स्वतहः अध्यक्ष हुने व्यवस्था गरेको थियो । एक कार्यकाल पदाधिकारी भएको व्यक्ति मात्र संस्थाको वरिष्ठ उपाध्यक्ष बन्न पाउने व्यवस्था विधानको दफा १० मा गरिएको छ ।

अध्यक्ष सहितका अन्य पदाधिकारीको हकमा भने कार्यसमितिमा एक कार्यकाल बिताएको हुनुपर्ने व्यवस्था विधानले गरेको छ । उक्त विधानले आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षको प्रावधान लागू हुने उल्लेख गरेको छ ।

अहिले हुन लागेको निर्वाचनलाई पुरा गर्न इप्पान कार्यसमितिले ‘निर्वाचन निर्देशिका’ पारित गरेको थियो । उक्त निर्देशिकाले अध्यक्षका सम्बन्धमा गरेको थप व्यवस्था विधानमा भएको व्यवस्था विपरित भएको भन्दै अध्यक्षका प्रत्यासी मल्ल र उनको समुहले असन्तुष्टि जनाएको हो ।

विधानले एकपटक कार्यसमिति सदस्य भएको व्यक्ति अध्यक्ष बन्न सक्ने व्यवस्था गरेकोमा निर्देशिका मार्फत वरिष्ठ उपाध्यक्षका लागि विधानमा भएको व्यवस्था अध्यक्ष पदमा पनि लागू गर्न खोजिएको मल्लको भनाई छ । विधानलाई निर्देशिकाले नियन्त्रण गर्न नसक्ने भन्दै मल्लले विधान विपरित हालका पदाधिकारीले मात्र अध्यक्षमा दाबेदारी दिने किसिमको व्यवस्था कार्यान्वायनमा ल्याउन खोजिएको बताए । “अहिले ल्याइएको निर्देशिकाले विधानमा भएको व्यवस्था अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिन योग्य व्यक्तिलाई निषेध गर्न खोजियो,” मल्लले भने ।

इप्पानको विधान र निर्देशकामा पदाधिकारीका सम्बन्धमा भएका व्यवस्था यस्ता छन् ।

विधानलाई पाखा लगाएर निर्देशिकाको बलमा धाँधली गर्न खोजिएको अध्यक्षका प्रत्यासी मल्लले आरोप लगाए । नियोजित रुपमा अहिले संस्था बाहिर रहेकाहरुलाई अध्यक्षमा आउन नदिने किसिमले निर्देशिका ल्याएर उक्त निर्देशिका सार्वजनिक समेत नगरी सिण्डिकेटलाई प्रश्रय दिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

बिहीबार हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने तर सोही दिन उक्त व्यक्ति संस्थाको अध्यक्ष हुने नभई अर्को कार्यकालमा मात्र अध्यक्ष हुने व्यवस्था विधानले गरेको छ । मल्लले विधानमा कार्यसमितिमा एक कार्यकाल बिताएको व्यक्ति पदाधिकारी हुन सक्ने भनेर गरिएको व्यवस्थालाई निर्देशिकामार्फत उल्ट्याउन खोजिएको बताए । ‘संस्थाको अध्यक्ष हुनका लागि संस्थाको स्वीकृत विधान बमोजिम वरिष्ठ उपाध्यक्ष हुनका लागि चाहिने सरहको योग्यता हुनुपर्नेछ’ भनेर निर्देशिकामा गरिएको व्यवस्था विधान विपरित भएको उनको भनाई छ ।

विधानमा भएको ‘पदाधिकारी हुन कम्तीमा एक कार्यकाल कार्य समिति सदस्य भएको हुनु पर्नेछ’ भन्ने व्यवस्थाका आधारमा आफ्नो उम्मेदवारीका लागि बाटो खुल्ला भएको बताएका उनले विधान अनुरुप अघि बढ्न इप्पान कार्यसमितिलाई आग्रह समेत गरे ।

यता इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने सहमतिका आधारमा नयाँ नेतृत्व ल्याउन पहल गरिरहेको बताउँदै आएका छन् । आफु सन्तुलित धारमा रहेर संस्थाको हीतलाई केन्द्रमा राख्ने बताउँदै आएका आचार्यसँग संस्थामा उत्पन्न विवादका सम्बन्धमा सम्पर्क हुन सकेन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।