व्यवसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्य सचिव डा. अर्याल


नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले व्यवसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसंग भएको भेटमा मुख्य सचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताएका हुन् ।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा अर्याललाई बधाइ दिदैं विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउँदै महासंघ अध्यक्ष ढकालले यसको संसोधनका लागि पहल गर्न पनि मुख्य सचिव डा. अर्याल समक्ष आग्रह गरे ।

महासंघले निजी क्षेत्रको मर्यादाक्रमको बिषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिएका थिए । यसैगरि जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरि व्यवस्था गर्नुपर्ने सुुझाव अध्यक्षले दिए ।

भेटका अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारको निजी क्षेत्रबारे प्रष्ट नीति हुनुुपर्नेमा जोड दिए ।

महासंघका उपाध्यक्षहरु सुरकृष्ण वैद्य र हेमराज ढकालले बढदो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यवसायिक लागत घटाउन सरकारले पहल गनुपर्ने बताएका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।