एघार महिनामा साढे ३४ अर्ब विदेशी लगानी प्रतिबद्धता, १४ अर्ब बाहिरियो

0
Shares

चालु आर्थिक वर्षको एघार महिना अर्थात गत साउनदेखि जेठ मसान्तसम्ममा  ३४ अर्ब ५९ करोड विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जेठ महिनामा मात्रै ४ अर्ब ९६ करोड विदेशी लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार चालु आवको एघार महिनामा कुल ३४ अर्ब ५८ करोड ४ लाख ६६ हजार ७०४ रुपैयाँ बराबरको लगानीमा २७४ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । यसबाट १४ हजार ६१६ रोजगारी सृजना हुने जनाइएको छ।

चालु आर्थिक वर्षको जेठ महिनामा ४ अर्ब ९६ करोड ५३ लाख रुपैयाँ बराबर प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । जेठमा ५७ वटा उद्योगमा २ हजार ५६९ जनालाई रोजगारी दिने प्रस्ताव आएको हो ।

विभागका अनुसार जेठमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा २६.४५ प्रतिशत र सबैभन्दा कम पूर्वाधार तथा ऊर्जामा क्रमशः १.२ प्रतिशत, १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको हो । कृषि र खनिजमा लगानी प्रतिबद्धता आएको छैन । जेठ महिनामा ५६ वटा साना र एउटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको हो ।

वैशाख महिनामा २८ वटा उद्योगमा १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । हालसम्ममा भने ४ खर्ब ५३ अर्ब ८४ करोड ९९ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै जेठमा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) गरी १३ वटा उद्योगमार्फत् ७ करोड ३१ लाख रुपैयाँ लगानी प्रतिद्धता जनाएका छन् । चालु आर्थिक वर्षको जेठसम्ममा भने १२६ वटा उद्योगमा एसपीए, एसएसएस र टीटीएमार्फत् १५ अर्ब ३८ करोड ३७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागअनुसार जेठमा विदेशी लगानी प्रतिबद्धता जनाउने ३०२ जना लगानीकर्ताले बिजनेश भिसा लिएका छ । त्यसमा ४४ जना प्रतिनिधि र १३४ जनाले डिपिन्डेन्ट भिसा लिएका छन् ।

एघार महिनामा बाहिरियो १४ अर्ब

चालु आवको एघार महिना अर्थात जेठ मसान्तसम्ममा विदेशी लगानी आएका उद्योगले नाफा तथा रोयल्टी गरेर १३ अर्ब ८२ करोड ५५ लाख रुपैयाँ लैजान विभागमा प्रस्ताव पेश गरेका छन् । जेठ महिनामा त्यस्ता कम्पनीले नाफासहित ३२ करोड ४३ लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव गरेका छन् ।

साथै यी उद्योगहरुले चालु आवको एघार महिनामा रोयल्टीवापत २ अर्ब ३२ करोड ८ लाख रुपैयाँ, १६ लाख १५ हजार अमेरिकी डलर, ३० करोड ७० लाख भारतीय रुपैयाँ र ४९ हजार युरो विदेश लैजान प्रस्ताव गरेका छन् ।

विभागका अनुसार जेठ महिनामा रोयल्टी वापत ६ करोड ७५ लाख २५ हजार रुपैयाँ, २ लाख ९२ हजार १३३ अमेरिकी डलर, १ लाख ५३ हजार भारतीय रुपैयाँ र ४२ हजार युरो विदेश लैजान प्रस्ताव गरेका छन् । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

चालु आवको जेठमसान्तसम्म विभागले व्यवसायी भिसाअन्तर्गत १ हजार ६१९ जना लगानीकर्ता, २६३ जना प्रतिनिधि र ७२६ जना आश्रितका लागि सिफारिस गरेको छ। जेठमा मात्रै विभागले ३०२ जना लगानीकर्ता, ४४ जना प्रतिनिधि र १७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।