गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक


गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गरेको हो ।

चालुतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ र पूँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूँजीगततर्फ कूल बजेटको ६० दशमलव चार र चालुतर्फ ३८ दशमलव एक प्रतिशत बजेट विनियोजन भएको हो ।

वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री मगरले जानकारी दिए । बजेटको स्रोततर्फ सङ्घ सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४० करोड ८ लाख १६ हजार रुपैयाँ, सःशर्त अनुदानतर्फ ४ अर्ब ९४ करोड १५ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ८४ करोड रुपैयाँ र विशेष अनुदानतर्फ ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५अर्ब १६ करोड ९१ लख ८४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री मगरले उल्लेख गरेका छन् । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपछि ३ अर्ब नगद मौज्दात बचत हुने र १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने जनाइएको छ ।

चालु आवमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याइएकामा आन्तरिक स्रोत र सङ्घ सरकारले दिने अनुदान खुम्चिएका कारण आगामी आवको बजेटको आकार घटेको हो । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ । -रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।