असार ८ गतेदेखि ह्वावे डिजिटल नेपाल कन्क्लेभ हुँदै


असार ८ र ९ गते ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ, २०२३ को हुने भएको छ ।

आईसीटी फाउन्डेसन नेपाल (आईएफएन)को आयोजनामा हुने कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी)को पनि आयोजना गर्ने भएको हो ।

सोमबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै आईसीटी फाउन्डेसन नेपालले कन्क्लेभबारे जानकारी दिएको हो । उक्त कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञसहित ७० बढी स्रोत व्यक्ति रहने छन् । दुई दिने कन्क्लेभमा जापान, दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहने छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने बताइएको छ ।

द सोल्टी काठमाण्डौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुनेछन् । असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको चारवटा किनोट र मन्त्री रेखा शर्मासँग पावर संवाद सेसन हुने छ । पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धी सेसनहरु रहेका छन् । त्यस्तै, दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरू रहेका छन् ।

कन्क्लेभसँगै अलगरूपमा मिनी मोबाइल वर्ल्ड कंग्रेसको रूपमा ह्वावेले मोबाइल नेपाल कंग्रेसको आयोजना गर्ने छ । मोबाइल कंग्रेसमा सहभागीले ५ जी एआईसँगै नयाँ प्रविधिहरूको जानकारी पाउने छन् । हावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा छ, त्यसैमा रहेर सम्मेलनले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा अटोमेसन स्पिड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ एन्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरू र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ ।

मोबाइल नेपाल कंग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।