नेपालीको थाप्लोमा प्रतिव्यक्ति ऋण ७४ हजार ५१६ रुपैयाँ, सार्वजनिक ऋण पौने २२ खर्ब पुग्यो


नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुग्दा एक नेपालीको थाप्लोमा प्रतिव्यक्ति ऋण ७४ हजार ५१६ रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालले आन्तरिक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रूपैयाँ पुगेकाे छ । यस्तै बाह्य ऋण १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख तिर्न बाँकी रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार ५१६ रुपैयाँ बराबर पर्न जान्छ । 

घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसदमा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप ४ खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये २ खर्ब ४० अर्ब आन्तरिक र २ खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने सरकारको लक्ष्य छ ।

चालु आर्थिक वर्ष २०७९/८० सुरु हुँदा अर्थात् गतवर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र १ खर्ब ५९ अर्ब ९५ करोड ८ लाख रुपैयाँ बराबर ऋण थपिएको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४४.७९ प्रतिशत पुगेको छ ।

जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जाँनु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै यो विषय अहिले संसदमा समेत उठिरहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारले ३ खर्ब ६ करोड ऋण उठाएको छ भने २ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ ।

जेठ मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब ५२ अर्ब ८ करोड ६० लाख रुपैयाँले बढी हो ।

जेठ मसान्तसम्ममा सरकारको पुँजीगत खर्च १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख रुपैयाँ छ ।
यसरी एकातर्फ सरकारको राजस्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याज समेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ । यो अवधिमा आन्तरिक ऋणको साँवा, ब्याज र कसिमन भुक्तानीमा १ खर्ब ६४ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ बराबर खर्च भएको छ । जेठ महिनासम्म आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब आठ अर्ब ११ करोड ३८ लाख, ब्याज भुक्तानीमा ५६ अर्ब २६ करोड १० लाख र कमिसन भुक्तानीमा ११ करोड ३० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै, बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४० अर्ब ६८ करोड ४२ लाख बराबर खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा ३१ करोड ९९ लाख ८८ हजार र ब्याज भुक्तानीमा ८ अर्ब ६८ करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।  रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।