एघार महिनामा नेपालको व्यापार घाटा १३ खर्ब ३७ अर्ब नाघ्यो


चालु आर्थिक वर्ष २०७९\८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको हो ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको आँकडा घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १६ दशमलव शून्य एक, निर्यात २२ दशमलव ७४ र कूल व्यापार १६ दशमलव ६५ प्रतिशतले घटेको छ । कूल वैदेशिक व्यापार घटेसँगै गत वर्षको तुलनामा व्याघार घाटा पनि १५ दशमलव २१ प्रतिशतले घटेको छ ।

यो अवधिमा मुलुकले कूल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८४ प्रतिशत रहेको छ ।

नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा आठ खर्ब ३८ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोड रुपैयाँको सामान आयात हुँदा ९८ अर्ब ९७ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ ।

त्यस्तै, चीनबाट दुई खर्ब दुई अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा एक अर्ब ५२ करोड रुपैयाँको मात्र निर्यात भएको छ । जसकारण चीनसँगको व्यापारघाटा दुई खर्ब ८४ करोड रुपैयाँ बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग ३९ अर्ब ७५ करोड रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग ३० अर्ब ७४ करोड रुपैयाँ र अर्जेन्टिनासँग २३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

नेपालले धेरै व्यापार नाफा गरेका मुलुकमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग ४३ करोड ६० लाख रुपैयाँ, नर्वेसँग १० करोड १६ लाख रुपैयाँ र अल्जेरियासँग सात करोड २५ लाख रुपैयाँ व्यापार नाफा गरेको छ ।

जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा एक खर्ब ३७ अर्ब ६० करोड रुपैयाँको डिजेल, ६१ अर्ब ३८ करोड रुपैयाँको पेट्रोल र ५४ अर्ब ३२ करोड रुपैयाँकोको एलपी ग्यास रहेको छ । त्यस्तै, ३४ अर्ब तीन करोड रुपैयाँको कच्चा सोयाबिन तेल, २४ अर्ब ९७ करोड रुपैयाँको कोइला र २४ अर्ब ६२ करोड रुपैयाँको कच्चा पाम तेल आयात भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।