वैदेशिक व्यापार : १३६ देशसँग ब्यापार घाटा, डेनमार्कसँग उच्च नाफा


चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले १३६ देशसँग व्यापार घाटा ब्योेहोरेको छ । कुल १६८ देशसँग व्यापार गरेको नेपालले १३६ देशसँग घाटा ब्योहोरेको हो ।

वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ११ महिनामा मुलुकले कूल १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ।

यो तथ्यांकलाई हेर्दा नेपालले कुल १३६ देशसँग १३ खर्ब ३७ अर्ब ४६ करोड ६६ लाख ९३ हजार रुपैयाँ व्यापारघाटा व्यहोरेकोे छ । स्वदेशी वस्तुको निर्यात भन्दा विदेशी वस्तुहरुको आयात धरै भएकोले नेपाल घाटाको अवस्थामा पुगेको हो।

यस्तै गत आर्थिक वर्ष २०७८\७९ को जेठ महिनासम्ममा नेपालले १३८ देशसँग घाटा ब्योहोरेको थियो । गत आवमा नेपालले १५ खर्ब ७७ अर्ब ४१ करोड २९ लाख रुपैयाँ घाटा ब्योेहोरेको थियो । गत आर्थिक वर्षको तुलनामा अहिलेको व्यापार घाटा २ खर्ब ४० अर्ब कम हो।

सरकारले मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै जान थालेपछि गत वर्षको बैशाखदेखि भदौसम्म पाँच महिना विलासीताका वस्तुको आयातमा रोक लगाएको थियो । सरकारले यसरी आयतमा रोक लगाएकोले पनि व्यापार घाटामा कमी आएको विज्ञहरुले बताएका छन्।

भारतसँगको व्यापार घाटा उच्च

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९\८० मा सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । नेपालमा हुने कुल वैदेशिक ब्यापारमा ६२ प्रतिशत हिस्सा भारतको मात्र रहेको छ ।

नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा ८ खर्ब ३८ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोड रुपैयाँको सामान आयात हुँदा ९८ अर्ब ९७ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ ।

त्यस्तै, चीनबाट दुई खर्ब दुई अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा एक अर्ब ५२ करोड रुपैयाँको मात्र निर्यात भएको छ । जसकारण चीनसँगको व्यापारघाटा दुई खर्ब ८४ करोड रुपैयाँ बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग ३९ अर्ब ७५ करोड रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग ३० अर्ब ७४ करोड रुपैयाँ र अर्जेन्टिनासँग २३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

यी देशसँगको व्यापार नाफामा

नेपालले धेरै व्यापार नाफा गरेका मुलुकमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको डेनमार्क सँग नेपालले ४३ करोड ६ लाख ४ हजार रुपैयाँ बराबरको वैदेशिक नाफा कमाएको छ । उक्त देशसँग नेपालले ३८ करोड १४ लाख २ हजार रुपैयाँ बराबरको आयात हुँदा ८१ करोड ७४ लाख ६ हजार रुपैयाँको निर्यात गरेको छ ।

यस्तै चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले नर्वेसँग १० करोड १६ लाख २० हजार रुपैयाँ व्यापार गरेको छ । नर्वेबाट चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ७ करोड ७४ लाख ५७ हजारको आयात भएको छ भने १७ करोड ९० लाख ७७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस्तै वैदेशिक व्यापारको नाफामा रहेको देशहरु मध्ये अल्जेरिया दोस्रो स्थानमा रहेको छ । अल्जेरियासँग नेपालले सात करोड २५ लाख रुपैयाँ व्यापार नाफा गरेको छ । अल्जेरियाबाट साउनदेखि जेठसम्मको अवधिमा ४ लाख ६५ हजार रुपैयाँ बराबरको आयात भएको छ भने ७ करोड ३० लाख ३४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस्तै वैदेशिक व्यापारको नाफामा रहेको देशहरु मध्ये नाइजर तेस्रोे स्थानमा रहेको छ । नाइजरसँग नेपालले ५ करोड १४ लाख ३३ हजार रुपैयाँको व्यापार नाफा गरेको छ । नाइजरबाट ६ लाख ५१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान नेपाल आउँदा नाइजेरियामा नेपालबाट ५ करोड २० लाख ८३ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

यता नेपालको वैदेशिक व्यापारको नाफामा रहेको देशमध्ये चौथो स्थानमा कम्बोडिया छ । कम्बोडियाबाट नेपालले ५ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको व्यापार नाफा गरेको छ । कम्बोडियाबाट ७ करोड ३० लाख ४९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गर्दा १२ करोड ४२ लाख २१ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।

यस्तै उरुग्वे वैदेशिक व्यापारको नाफामा रहेको देशमध्ये पाचौँ स्थानमा छ । उरुग्वेसँग नेपालले ४ करोड १४ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । उरुग्वेबाट ११ हजार रुपैयाँको वस्तु तथा सामान नेपाल आयात हुँदा ४ करोड १४ लाख ६९ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।