श्रमदानबाट पुल निर्माण


ताप्लेजुङको फक्तालुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको जोड्ने याफ्रे खोलामा श्रमदानमार्फत काठे मोटरेबल पुल निर्माण गरिएको छ ।

बाढीबहिरोका कारण खोलामा पानी तह बढेकाले गाडी तर्न नसक्ने भएपछि फक्ताङ्लुङ गाउँपालिकाको सक्रियतामा श्रमदानमा काठेपुल निर्माण गरिएको हो ।

तमोर कोरिडोरअन्तर्गतको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको सिमाना भई बग्ने याफ्रे खोलामा काठेपुल निर्माण भएसँगै यातायातका साधान सञ्चालन हुन थालेको हो । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार गाउँपालिकाको एक्साभेटरसहित निरन्तर छ दिन श्रमदान गरेर काठेपुल निर्माण गरिएको हो ।

काठेपुल निर्माण भएपछि फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक–सिँवाबजार–सदरमुकाम फुङ्लिङमा यातायात सञ्चालन हुन थालेको छ । त्यस्तै पुल निर्माणपछि सातवटा वडा रहेको सिङ्गो फक्ताङ्लुङ गाउँपालिकावासीलाई नै राहत पुगेको गाउँपालिकाले जनाएको छ । यहाँका यात्रुलाई यात्रा गर्न तथा खाद्यान्न लगायतका सामग्री ढुवानी गर्नमा सहज भएको अध्यक्ष लिम्बूको भनाइ छ ।

पुल निर्माणका लागि श्रमदान गर्नमा गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि, लिङ्मि, फुरुम्बुलगायत वडाका सर्वसाधारण सहभागी थिए । यसअघि खोलामा आएको बाढीले काठेपुल बगाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।