परम्परागत बाली छाडेर ओखर खेती


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि यहाँका किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् ।

जैमिनी नगरपालिका–३ को नौलाका गोपाल छन्त्यालले परम्परागतरुपमा मकै र कोदो लगाउँदा सोचेजस्तो फाइदा कमाउन नसकेको बताए । उनले मकै र कोदो लगाए पनि राम्रो उत्पादन नहुँदा मेहनत मात्रै खेर गएको बताए ।

स्थानीय प्रेमबहादुर छन्त्याल र खिमबहादुर छन्त्यालले पनि मकै र कोदो उत्पादनबाट फाइदा लिन नसकेपछि वैकल्पिक खेतीको जोहो गरेका थिए । उनीहरुले केही बारीमा आलु लगाउनु भएको थियो भने धेरै बारी बाँझो बन्न थालेको थियो । गाउँबाट सहर जाने, बसाइँ सर्ने, गाउँमा गोरु नपाउने, गाईभैँसी पाल्नेको कमी हुँदा मल कम भएकाले उत्पादन घटेको उनीहरुको भनाइ थियो ।

“दैनिक स्याहार गर्ने खेतीपाती लगाउन नसकेकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाएको हो”, प्रेमबहादुरले भने, “मेरो बारीमा भएका दुई वटा बोटमा लटरम्म फलेको छ । व्यावसायिकरुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ ।”

उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएबा हुन् । यहाँका किसानले गठन गरेको ‘छन्त्याल कृषक समूह’मा आबद्ध भएका तीन भाईले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन् । एक हजार दुई सय बिरुवा रोप्नका लागि रू १७ लाख खर्च भएको परियोजनाले जनाएको छ ।

खर्चमध्ये परियोजनाले रू १० लाख अनुदान दिएको र बाँकी रकम तीन भाइले खर्च गरेका परियोजनाका प्रमुख सुजित पौडेलले बताए । उनका अनुसार बिरुवा रोप्न परियोजनाले अनुदान दिएको छ भने खाडल खन्ने, मल, घेराबारको सुरक्षा, सरसफाइ र सिञ्चाइलगायत कामका लागि तीन भाइले सात लाख रुपैयाँ खर्च गरेका छन् ।

परियोजनाले कृषि फसलको ब्लक र जोन बनाएर ओखर उत्पादनलाई जोड दिएको पौडेलको भनाइ छ । “परम्परागत कृषिभन्दा फरक खेती गरेर धेरै उत्पादन आउने काममा हामीले साथ दिएका छौँ”, उनले भने, “सात वर्षसम्म ती ब्लक र जोनमा समूह र व्यक्तिगत फार्ममा साथ दिने परियोजनाको योजना छ ।” थप चार वर्ष प्राविधिक सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य राखेको उनले बताए ।

जुम्लाबाट झिकाइएका ओखरका बिरुवा रोपेर अहिले नौलाको बाँझिएको खरबारी र बस्न छाडेको घरबारीसमेत हरियाली भइसकेको छ । ओखरका बिरुवा तीन वर्षमा फल्न सुरु गर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द शर्माले बताए । “कलमी बिरुवा भएकाले यो वर्ष पनि एक\दुई दाना लागेको थियो, तर टिपेर फालिदिनु भनेका थियौँ”, उनले भने, “तीन वर्षपछि मात्र फल राखियो भने गुणस्तरको फल्छ ।” छन्त्याल समूहमा आबद्ध धेरै किसान छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।