तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर लगानी नगर्नु : बालेन


काठमाण्डौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्न निर्देशन दिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न निर्देशन दिएका हुन् । उनले परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न र सेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्न पनि आग्रह गरेका छन् ।

उनले जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुपर्ने बताउँदै ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्ने निर्देशन दिएका हुन् ।

यस्तै उनले सर्वसाधारणलाई ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिन आग्रह गरेका छन् । बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्न निर्देशन दिँदै उनले नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउन आग्रह गरेका छन् ।

यता महानगरपालिकाले सहकारी संस्थाहरूलाई ३० दिनभित्र सबै विवरण अद्यावधिक नगरे कारबाही गर्ने चेतावनी दिएको छ महानगरपालिकाले महानगरभित्र रहेका सबै सहकारीलाई विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो ।

सहकारीहरूले अटेर गरेको भन्दै ३० दिनभित्र अद्यावधिक नगरे कानुन बमोजिम कारबाही गरिने जनाएको छ । प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था छ ।

‘कानूनी व्यवस्था हुँदाहुँदै केही सहकारी संस्थाहरूले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाण्डौं महानगरपालिका सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ।’ महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।