पचास प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर


सिरहाको गोलबजार नगरपालिका–१३ को वडा कार्यालयले किसानलाई अनुदानमा मोटर उपलब्ध गराएको छ ।

किसानलाई सिँचाइ गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घरपरिवारलाई मङ्गलबारदेखि मोटर उपलब्ध गराएको हो ।

१८ हजार रुपैयाँ पर्ने मोटरको मूल्यमा वडा कार्यालयले नौ हजार रुपैयाँ अनुदान दिएको थियो । अनुदानमा मोटर उपलब्ध गराउनका लागि चालु आवमा वडा कार्यालयले १० लाख रुपैयाँ विनियोजन गरेको वडा अध्यक्ष नन्द किशोर महतोले बताए ।

“किसानले समेत लगानी गरेपछि अपनत्व महसुस हुन्छ”, अध्यक्ष महतोले भने, “वितरण गरिएका सामग्रीको माया हुन्छ, त्यसको जतन गरी उपयोग पनि गरिन्छ ।” मोटर खरिदमा अनुदान दिएपछि किसानले पनि राहत महसुस गरेका छन् । “आकासे पानीको भरमा खेतीपाती गरिरहेका थियौँ, समयमा पानी नपर्ने तथा बालीनाली नसप्रने समस्या हुन्थ्यो, मोटर पाएपछि सिँचाइमा ढुक्क भएको छ”, किसान चन्द्रनाथ महतोले भने ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ असार २०८०, बुधबार  १२ : १७ बजे