बोटलर्स नेपालको वार्षिक आम्दानी पौने २२ अर्ब, क्षमता विस्तारका लागि ६ अर्ब कर्जा लिँदै

0
Shares

कोकाकोला, फ्यान्टा, स्प्राइट र किन्नले ब्रान्डको पेयपदार्थ बिक्री गर्ने बोटलर्स नेपाल तथा बोटलर्स नेपाल तराइले एकै वर्ष पौने २२ अर्बको व्यापार गरेको छन । बोटलर्स नेपाल र यसको भगिनी संस्था बोटलर्स नेपाल तराईले सन् २०२२ मा २१ अर्ब ७२ करोड २० लाख सञ्चालन आम्दानी गरेका छन् ।

सन् २०२२ मा बोटलर्स नेपालले १२ अर्ब ५२ करोड ४० लाख र बोटलर्स नेपाल तराईले ९ अर्ब १९ करोड ८० लाख सञ्चालन आम्दानी गरेको छ । बोटलर्स नेपाल विश्व विख्यात कोल्ड ड्रिङ्स कम्पनी- द कोका कोला कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता रहेको छ । कम्पनीले कोका–कोला, स्प्राइट, फेन्टा लगायतका कोल्ड ड्रिङ्स र किन्ले ब्रान्डनामको पानी प्रशोधन तथा बिक्री वितरण गर्दै आएको छ ।

बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई दुवै नेपाल स्टक एक्सेन्चमा सूचीकृत भएका कम्पनीहरु हुन् । सन् १९७९ मा स्थापना भएको बोटलर्स नेपालमा कोकाकोला साउथइस्ट एशिया कम्पनीको ७६ प्रतिशत, गोर्खा ब्रुअरीको २२ प्रतिशत र २ प्रतिशत सेयर सर्वसाधारण जनताको रहेको छ । बोटलर्स नेपाल तराईमा बोटलर्स नेपालको सेयर हिस्सा ९१ प्रतिशत रहेको छ भने बाँकी सेयर सर्वसाधारणको रहेको छ ।

दुवै कम्पनीले ६ अर्ब ७ करोड ६० लाख बराबरको कर्जाका लागि रेटिङ गराएका छन् । क्षमता विस्तारका लागि बोटलर्स नेपालले ३ अर्ब ३७ करोड ३० लाख बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सो रकम बराबरको कर्जाका लागि ए१ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १४.७ गुणा रहेको छ ।

विश्व विख्यात कम्पनीको आधिकारिक बिक्रेता र कोका–कोला साउथइस्ट कम्पनीको सेयर लगानी रहेका कारण कम्पनीलाई विभिन्न चरणमा प्राविधिक तथा वित्तीय सहयोग मिलिरहेको छ । त्यसका साथै नेपाली बजारमा कोल्ड–ड्रिङ्सको माग बढ्दै गएको छ र अधिकांश नेपालीको पहिलो रोजाइमा कोका–कोला परेका कारण कम्पनीको व्यापार आगामी समयमा बढ्ने देखिन्छ ।

यस्तै २ अर्ब ७० करोड ३० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि बोटलर्स नेपाल तराईले रेटिङ गराएको छ । ७० करोड ३० लाख बराबरको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले डबल ए माइनस रेटिङ गरेको छ भने २ अर्ब बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले ए१ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ८.६ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।