अमेरिकाको ब्याजदर २२ वर्ष यताकै उच्च

0
Shares

अमेरिकाको केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड) ले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएर ५.२५ प्रतिशत पु-याएको छ । यससँगै अमेरिकाको ब्याजदर २२ वर्ष यताकै उच्च पुगेको हो ।

सन् २०२२ को मार्च महिनाबाट ब्याजदर बढाउन सुरु गरेको फेडले सन् २०२३ को जुलाई महिनासम्ममा ११ पटक ब्याजदर बढाएको छ । फेडले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाउँदा बेन्चमार्क ब्याजदर ५.२५–५.५ प्रतिशत कायम भएको हो ।

सन् २०२० मा विश्वभर फैलिएको कोरोना महामारीका कारण लकडाउन हुँदा आपूर्ति श्रृङ्खला अवरोध भएको थियो जसकारण माग र आपूर्तिबीच सन्तुलन नमिल्दा मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च हुन पुगेको थियो । आकाशिएको मूल्यवृद्धि दर नियन्त्रणका लागि फेडले संकुचित मौद्रिक नीति अपनाउनुका साथै आक्रामक शैलीमा ब्याजदर बढाइरहेको छ । जसको सकरात्मक प्रभाव मूल्यवृद्धि नियन्त्रणमा परेको छ भने आर्थिक वृद्धि दरमा कमी आएको छ ।

सन् २०२२ मा २.१ प्रतिशत रहेको अमेरिकाको वृद्धि दर उच्च ब्याजवृद्धिका कारण सन् २०२३ मा आर्थिक वृद्धि दर खुम्चिएर १.८ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अनुमान गरेको छ । सन् २०२२ को जुन महिनामा ९ प्रतिशत रहेको अमेरिकाको मूल्यवृद्धि दर सन् २०२३ को जून महिनामा आइपुग्दा ३ प्रतिशतमा झरेको छ ।

फेडले ब्याजदर बढाउँदा बेलायतको केन्द्रीय बैंक र यूरोपियन केन्द्रीय बैंकले समेत ब्याजदर बढाएका छन् । ब्याजदरमा भएको वृद्धिका कारण अमेरिकामा बेरोजगारी दर बढ्दै गएको छ । तथापी फेड अध्यक्ष जेरोम पावेलले अमेरिकामा नयाँ रोजगारी बढेका कारण बेरोजगारी दर नियन्त्रणमा रहेको जनाएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।