प्रतिकित्ता ५० रुपैयाँमा किन्न पाइने हाथवेको आईपीओ बिक्री खुला


हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता ५० रुपैयाँ अंकित दरका २४ लाख २७ हजार ७५० कित्ता आईपीओ सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो ।

कम्पनीको सेयरमा आज भदौ २१ गते बिहीबारदेखि भदौ २५ गते सोमबारसम्म आवेदन दिन पाइनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिनेछ । आईपीओमा न्यूनतम २० देखि २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५० रुपैयाँ अंकित दरका २९ लाख २५ हजार कित्ता आईपीओ ल्याउन अनुमति पाएको थियो ।

कुल कित्तामध्ये कम्पनीले१० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । यसैगरी २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ मोबाइल एप तथा अनलाईन माध्यामको प्रयोग गरी मेरो सेयरको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु पनि सि–आस्बा प्रणाली मार्फत सेयरमा आवेदन दिन सकिन्छ ।  कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पू्ँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७.५० प्रतिशत सेयर स्वामित्व कायम छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।