शरद ऋतुमा हिमाल आरोहण अनुमतिबाट ३ करोड ४ लाख रोयल्टी संकलन


शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट ३ करोड ४ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । ६ वटा हिमाल आरोहणको अनुमतीबाट उक्त रकम संकलन भएको हो । असोज र कात्तिकमा मनास्लु हिमाल, कुम्भकर्ण हिमाल, पुथा हिउँचुली, रक्सा उराइ हिमाल, हिमलुंग हिमाल, नेमजुंग हिमाल गरी ६ वटा हिमाल आरोहणको अनुमती दिइएको हो ।

यस वर्षको सेप्टेम्बर ८ सम्म ४४ वटा देशका २८४ आरोहीले अनुमती लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहण गर्न ६० जना महिलालाई स्वीकृती दिइएको छ भने २२४ पुरुषले स्वीकृती दिइएको छ ।

सबैभन्दा बढी रोयल्टी मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै दुई करोड ९८ लाख ६५ हजार ३७५ रोयल्टी सङ्कलन भएको छ । मनास्लु हिमाल आरोहणका लागि २३ समूहका २६६ जनाले अनुमति लिएका छन् । जसमध्ये २०८ जना पुरुष रहेका छन् भने ५८ जना महिला रहेका छन् ।

यस्तै मनास्लु हिमाल पछि सबैभन्दा धेरै कुम्भकर्ण हिमालबाट रोयल्टी संकलन भएको विभागले जनाएको छ । कुम्भकर्ण हिमालबाट १ लाख ९८ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । एउटा समूहबाट ५ जनाले अनुमती लिँदा १ लाख ९८ हजार रोयल्टी संकलन भएको हो । यता शरद ऋतुमा तेस्रो धेरै रोयल्टी संकलन भएको हिमाल पुथा हिउँचुलीबाट हो । जसको हिमाल आरोहण अनुमतीबाट १ लाख ६५ हजार १२५ रुपैयाँ रोयल्टी संकलन भएको छ । १ समूहबाट ४ पुरुष र १ महिला गरी ५ जनाले अनुमती पाउँदा उक्त रकम प्राप्त भएको हो ।

यस्तै रक्सा उराइ हिमाल आरोहण अनुमतीबाट १ लाख ५ हजार ६८० रुपैयाँ रोयल्टी संकलन भएको छ भने हिमलुंग हिमालबाट र नेमजुंग हिमालबाट क्रमशः ६६ हजार ३७५ र ६६ हजार ३७५ रोयल्टी संकलन भएको छ ।  रक्सा उराइ हिमाल आरोहण गर्न १ समूहबाट ४ जनाले अनुमती लिएका थिए भने हिमलुंग हिमालबाट र नेमजुंग हिमालबाट २–२ जनाले अनुमती लिएका थिए ।

कुन देशबाट कतिले लिए अनुमती ?

शरद ऋतुमा ४४ देशले हिमाल आरोहण गर्न अनुमती लिएका छन् । जसमध्ये सबैभन्दा धेरै चीनबाट ६७ जनाले अनुमती लिएका छन् । १८ जना महिला र ४९ जना पुरुष गरी ६७ जनाले अनुमती लिएका हुन् । यस्तै अमेरिकाबाट ३० जनाले अनुमती लिँदा रुसबाट २६ जनाले अनुमती लिएको पर्यटन विभागले जनाएको छ । नेपालका हिमाल आरोहणको लागि फ्रान्स र जापानबाट १५–१५ जनाले अनुमती लिएका छन् । यस्तै क्यानडा र स्वीजरल्याण्डका १२–१२ जनाले अनुमती लिएका छन् । विभागका अनुसार इरान र बेलायतबाट भने १०–१० जनाले अनुमती लिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।