काठमाडौँलाई भारत र चीनसँग जोड्न रेलमार्ग निर्माण कार्य शुरु गरिने

0
Shares

सरकारले दुई वर्षभित्र काठमाडौँलाई भारत र चीनसँग जोड्न रेलमार्ग निर्माण कार्य शुरु गर्ने भएको छ ।

सङ्घीय संसद्को बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सन् २०२२ भित्र नेपाललाई मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धता गरिएको छ ।

यस्र्च निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र कार्यान्वयन गरिने, मध्य पहाडी र हुलाकी मार्गको निर्माण, औद्योगिकीकरण, अत्याधुनिक प्रविधि र उत्कृष्ट उत्पादन नीति, खानीको उत्खनन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सन् २०२० मा नेपाल भ्रमण वर्षका लागि अभियान चलाइने, माटो मौसम अनुकूल खेती गरिने, कान्ला कान्लामा फलफूल लगाइने, निर्माण, उत्पादनमूलक उद्योग र सेवामूलक क्षेत्रमा रोजगार सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा दिइने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने, सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने, डिजिटल नेपालको पाँच वर्षे कार्ययोजना लागू गरिने, यातायात क्षेत्रको एकाधिकार अन्त्य गरिने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

निजी, जनस्तर र सरकारी लगानीलाई सहकार्यका आधारमा प्रोत्साहित गर्ने, पूर्वाधारका महत्वपूर्ण आयोजना समयमै पूरा गर्ने सङ्कल्प पनि नीति तथा कार्यक्रममा गरिएको छ ।

प्रदेश र स्थानीय तहबीच असल अभ्यासको आदान प्रदानका लागि अभियान सञ्चालन, भूउपयोगको नीति कार्यान्वयन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०१९ भित्र सञ्चालनमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ ।