माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार, आज आइतबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।