अन्तरािष्ट्रय बजारको खोजि गर्दै सिमेन्ट उद्योग, शेयर बजारले गतिलिने बित्तिकै अर्घाखाँचीले आइपिओ ल्याउने


नियमित ऊर्जाको उपलब्धता, लगानीमैत्री वातावरण तथा निर्माण क्षेत्रमा आएको उत्साहजनक अवस्थाका कारण पछिल्लो दिनमा नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको छ । सिमेन्टमा देश आत्मनिर्भर भएसंगै अन्तराष्ट्रिय बजारमा निर्यातको प्रयास हुन थालेको छ ।

अर्घाखाँची सिमेन्टका सञ्चालक मुरारकाको भनाइमा सरकारले सिमेन्ट भारत निर्यातका लागि सहजीकरण गरिदिनुपर्छ । “हामी आत्मनिर्भर भई नै सक्यौँ, अब हामीले अन्तराष्ट्रिय बजार खोज्नुपर्छ । त्यसका लागि सबैभन्दा सरल र सहज गन्तव्य भनेकै भारत हो । भारतका उत्तर प्रदेश, विहार, पश्चिम बङ्गाल नेपालका लागि उपयुक्त बजार हुन सक्छ ।”

ती राज्यमा क्लिङ्कर उत्पादन नहुने भएकाले नेपालको सिमेन्ट उद्योगले निर्यात गरेर बजार विस्तार गर्न सकिने मुरारकाको भनाइ छ । “हामीले तयारी गरेर मात्रै भएन, सरकारले कानूनी रुपमा केही सुधार गरेर अन्तराष्ट्रिय व्यापारका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ”, उनले भने ।

देशभित्रै ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये केही उद्योगले त आफँै क्लिङ्कर नै उत्पादन गरेर बिक्री गरिरहेका छन् । सकारात्मक वातावरणका कारण निर्माण क्षेत्रमा प्रमुख रुपमा प्रयोग हुने सिमेन्टको माग पछिल्लो दिनमा बढ्दै गएको छ । यद्यपि व्यवसायी भने निर्माण क्षेत्र अघिल्लो वर्षको तुलनामा चालु आवमा कम भएकाले माग अपेक्षित रुपमा अगाडि बढ्न नसकेको दाबी गर्छन् ।
सिमेन्ट उत्पादक सङ्घको पछिल्लो विवरणअनुसार नेपालमा एक करोड ५० लाख टन सिमेन्ट उत्पादन भइरहेको छ । कतिपय त मागभन्दा बढी नै उत्पादन हुन थालेको बताउने गरेका छन् । सिमेन्टमा नेपाल आत्मनिर्भर बन्दा त्यसबाट व्यापार घाटा घटाउन सहयोग पुगेको छ । देशभित्रै करिब ८० लाख मेट्रिक टन क्लिङ्कर उत्पादन हुँदै आएको छ । पछिल्ला दिनमा सिमेन्ट उत्पादनमा अग्रणी अर्घाखाँची सिमेन्ट उद्योगले नेपालको सिमेन्ट उद्योगमा सात अर्ब रुपैयाँ लगानी गरेको छ ।

उद्योगका सञ्चालक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, “नेपाललाई सिमेन्टमा आत्मनिर्भर बनाउन हाम्रो उद्योगले पनि भरथेग गरेको छ ।” हाल उद्योगले तीन हजार मेट्रिक टन सिमेन्ट र तीन हजार मेट्रिक टन नै क्लिङ्कर उत्पादन गरिरहेको छ । “बजारमा सिमेन्टको माग नबढेका कारण हामीले उद्योगको ५० प्रतिशत क्षमतामा मात्रै चलाइरहेका छाँै”, मुरारकाले भने, “निर्माणको काम हुने हिउँदको समय भएकाले पनि माग बढ्ने अपेक्षा लिएका छौँ ।”

सिमेन्टमा गुणस्तरीयताको विषय सबैभन्दा महत्वपूर्ण हुने बताउदै मुरारकाले भने, “हामीले गुणस्तरीयतामा कुनै सम्झौता गरेका छैनौँ । प्लान्ट पूरै अटोमेटिक प्रणालीमा चल्छ । चुनढुङ्गाको उत्खननदेखि उद्योगमा समेत त्यसलाई विशेष ध्यान दिएका छौँ ।” उद्योगले उत्पादन गरिरहेको सिमेन्ट निर्यातका लागि पहल भइरहेको छ ।

अन्तर्रािष्ट्रय रुपमा निर्यातका लागि केही कठिनाइ रहेको र यहाँ उत्पादन भएको सिमेन्टको गुणस्तरका कारणले गर्दा पनि भारतीय बजारमा निर्यात गर्न समस्या आएकाले त्यसलाई मिलाइदिन मुरारका आग्रह गरे । मागको तुलनामा उत्पादन बढी भएकाले सिमेन्टको मूल्य घट्दा त्यसबाट उपभोक्तालाई भने राहत पुगेको छ ।

उद्योगका अर्का सञ्चालक राजेश अग्रवालका अनुसार उद्योग वातावरणमैत्री रहेको र वातावरण संरक्षणमा योगदान दिएको दाबी गर्छन । उद्योगले फाल्ने तातो हावाको उपयोग गरेर विद्युत् उत्पादन गरिएको छ । हाल अर्घाखाँची सिमेन्ट उद्योगले दुई मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । अर्घाखाँचीको नरपानीमा रहेको खानी प्रयोग गरेका कारण सिमेन्टको नाम नै अर्घाखाँची राखिएको उनको भनाइ थियो ।

“नेपाली नाम होस, नेपालको पहिचान स्थापित होओस् भनेर नै ‘अर्घाखाँची सिमेन्ट’ नाम राखिएको हो”, सञ्चालक अग्रवालले भने ।
बजारले माग गरेको अवस्थामा उद्योगले आम सर्वसाधारणलाई शेयर बिक्री (आइपिओ) गर्ने तयारी गरेको छ । उत्पादनमूलक क्षेत्रका रुपमा शिवम् सिमेन्टले यसभन्दा अघि सर्वसाधारणलाई शेयर बिक्री गरेको छ । शेयर बजार ओरालो लागेको बेला शेयर बिक्री गर्दा त्यसबाट नकारात्मक अवस्था आउन सक्ने भएकाले आफूहरु अवसर कुरेर बसेको सञ्चालक मुरारकाको भनाइ छ । “शेयर बजारले गति लिने बित्तिकै हामी उद्योगको शेयर बिक्री गर्नेतर्फ सोचेका छाँ”, उनले भने ।